काठमाडौं ।
गत १३ पुसमा मन्त्रीपरिषद वैठकले निर्णय गरे अनुसार सरकारले बिहीबारदेखि मिर्गाैला प्रत्यारोपण गरेका, सबै किसीमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक रुपमा जीवनयापन भत्ता वितरण कार्य शुरु गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरवबहादुर देउवाले वीर अस्पतालमा उपचाररत ११ जना क्यान्सर र १० जना मिर्गाैला पीडित विरामीलाई जनही ५ हजार रुपैयाँबराबरको चेक वितरण गरेर भत्ता वितरण कार्यको शुरुवात गरे ।
पहिलो चरणमा भत्ता पाउनेमा वीर अस्पतालामा उपचार गराईराखेका काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लाका विरामी छन । कार्यक्रममा स्वास्थ्यमन्त्री दिपक वोहोराको पनि उपस्थिति थियो ।
पहिलो चरणमा भत्ता पाउनेमा क्यान्सर र मिर्गौलाका विरामी परेता पनि सडक लगायत विभिन्न दुर्घटनामा परि मेरुदण्डको उपचार गरिने राष्ट्रिय ट्रमा सेन्टरमा आयोजना गरिएको भत्ता वितरण कार्यक्रममा भने विहीबार एकजना पनि मेरुदण्ड पक्षघातका विरामी परेनन । उनीहरुलाई क्रमशः भत्ता दिइने बताइएको छ ।
पहिलो चरणमा १७ हजार यस्ता विरामीलाई भत्ता दिइने र पछि करीव २ लाख यस्ता विरामीलाई भत्ता दिने सरकारको योजना छ ।
भत्ता वापतको रकम मदिरा तथा सुर्ती तथा चुरोटजन्य पदार्थको विक्रीमा लगाइने थप कर (स्वास्थ्य कर) बाट संकलन गरिने स्वास्थ्यमन्त्री दिपक वोहोराले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले यस्ता दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाको दरमा वितरण गर्न लागेको जीवनयापन भत्ताको लागि कार्यविधि तयार नभएको भन्दै अर्थ मन्त्रालयले १७ हजारजना यस्ता विरामीको लागि आवश्यक पर्ने रकम दिन अस्विकार गरेको थियो । तैपनि स्वास्थ्य मन्त्रालयले हाललाई सो रकमको जोहो गर्दै बिहीबार २१ जनालाई सो रकम वितरण गरेको हो ।
१७ हजार यस्ता दीर्घरोगीका लागि मासिक ८ करोड ५० लाख तथा वार्षिक १ अरव २० करोड रुपैया आवश्यक पर्छ ।