खेर गएका वस्तुबाट बनेका सयौं सामग्रीको प्रर्दशनी

312

भक्तपुर ।
दैनिक रुपमा घरायसी प्रयोगमा आएर खेर गएका वस्तुहरुलाई एभरेस्ट इंगलिस स्कुल मिवाछेंका विद्यार्थीहरुले सदुपयोग गर्दै आफुले सिकेको शीपबाट आकर्षक, राम्रा, पुनःप्रयोग गर्न मिल्ने र सयौंथरी उपयोगी सामाग्री बनाएका छन ।


खेर गएका प्लास्टिकका बोत्तल, दहीका माटोका कतारा, कागज, पुराना पत्रपत्रिका, अण्डाको खोल, पुराना कपडा, प्लास्टिक टायर लगायत सयौं प्रयोगहीन वस्तुहरुलाई पुनःप्रयोग गरि आर्कषक र उपयोगी सामग्री बनाएका हुन ।


दशैं र तिहारको विदाको समय सदुपयोग गर्दै विद्यार्थीहरुले प्रोजेक्ट वर्कको रुपमा घरमै ती सामग्री बनाएका हुन । सानो कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले बनाएका ती सामग्रीको शुक्रबार विद्यालय हातामा विशाल प्रर्दशनीको आयोजना गरियो ।


प्रतियोगितात्मक सो प्रर्दशनीको विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले उद्घाटन गरेका थिए । ‘कुनै पनि वस्तु खेर जाँदैन, यसबाट विद्यार्थीको शीप सृजनामात्रै हैन, उनीहरुलाई भविष्यमा स्वावलम्वी र आत्मनिर्भर बनाउन पनि मद्धत गर्छ’ संस्थापक प्रिन्सिपल राजभण्डारीले भन्नुभयो ।


सोही अवसरमा विद्यार्थीहरुले आफुले विज्ञान कक्षामा सिकेको कुरालाई व्यवहारमा उतार्दै विज्ञान प्रर्दशनी पनि आयोजना गरेका थिए । विद्यालयका करीव १ हजार ४०० विद्यार्थी, शिक्षक, कर्मचारीको साथै अभिभावकहरुले ती दुवै प्रदर्शनीको अवलोकन गरेका थिए ।