काठमाडौं ।
तिलगंगा आँखा केन्द्रका संस्थापक निर्देशक एवम् वरिष्ठ आँखा शल्य चिकित्सक ÷विशेषज्ञ डा.सन्दुक रुइतलाई भारतको प्रशिद्ध पदक ‘पद्मश्री’ प्रदान गरिने भएको छ ।
गणतन्त्र भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा डा.रुइतलाई सो पदक प्रदान गर्ने भारतीय विदेश मन्त्रालयद्वारा विहीबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पद्मश्री पाउने डा.रुइत नेपालको पहिलो चिकित्सक हुन भने गतवर्ष माइती नेपालकी संस्थापक अध्यक्ष एवम् हाल ३ नं प्रदेश प्रमुख अनुराधा कोइरालालाई सो पदक प्रदान गरिएको थियो ।
यो वर्ष भारतीय नागरिकका अतिरिक्त सिंगापुर, लाओस, फिलिपिन्स, कम्बोडिया, सउदी अरव, थाइल्याण्ड, जापान, म्यान्मा, इण्डोनेशिया, ब्रुनाइ, ताजाकिस्तान र भियतनामका एक÷एकजना विदेशीलाई पनि पद्मश्रीप्रदान गरिने घोषणा गरिएको छ ।
आआफ्नो क्षेत्रमा उल्लेखनीय योगदान गर्ने भारत र तेस्रो मुलुकका विभिन्न क्षेत्रका व्यक्तित्वलाई प्रदान गर्ने पद्मविभुषण, पद्मभुषण र पद्मश्री गरि तीन वर्गमा वर्गिकृत पदकमध्ये डा.रुइतलाई पद्मश्री प्रदान गर्न लागिएको हो ।
भारतीय राष्ट्रपतिबाट आगामी मार्च महिनामा डा.रुइत सहित ८५ जनालाई ती तीनथरी पदक (पद्मविभुषण, पद्मभुषण र पद्मश्री) प्रदान गरिने पनि विदेश मन्त्रालयले जनाएको छ ।
इन्ट्रा अकुलर लेन्सको विकास र आँखाको नानी प्रत्यारोपणको क्षेत्रमा विश्वमै चर्चित डा.रुइतले सन् २००६ को फिलिपिन्सको प्रशिद्ध रोमन म्यागासासे पुरस्कार पाइसकेका छन् ।
उनले सो लेन्स विकास गर्नुअघि विकासोन्मुख र अविकसित मुलुकमा यो लेन्सको मुल्य करीव १० हजार पर्नेमा हाल ४ सय रुपैयामा उपलब्ध रहेको बताइन्छ । सन १९९७ देखि उत्पादन गरेको सो लेन्स हाल संसारका ४० लाख मानिसको आँखामा सफलरुपमा प्रत्यारोपण गरिसकिएको बताइन्छ ।







































