सीमामा एसएसबीको फेरि दादागिरी, नेपालतर्फ सडक निर्माणमा रोक

379

बेलौरी । नेपाल-भारत सीमा क्षेत्रमा निरन्तरको बिवाद खेप्दै आएको कञ्चनपुरको दक्षिणी भेगको बेलौरी नगरपालिकाको सडकघाटमा नेपाली पक्षले निर्माण शुरु गरेको सडकको कार्य भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको छ ।  जिल्लाको दक्षिणी भेगको पुनर्वासको आनन्दबजार स्थित नेपाल-भारत सीमा क्षेत्रको बिवादको घटनाको वर्ष दिन नपुग्दै बेलौरी नगरपालिकाको सडकघाटमा फेरि अर्को बिवाद शुरु भएको छ ।

बेलौरी नगरपालिका-१० स्थित सडकघाट देखि सीमावर्ती भारतीय गाउँ कम्पोजनगर जाने सडक नगरपालिकाको बजेटमा माटो भरानको काम हुँदै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा शनिबारदेखि रोक लगाएको हो । नेपाल-भारत सीमा स्तम्भ नम्बर ३४ देखि करिब ५०० मिटर पश्चिम तर्फ निर्माण हुँदै गरेको सडकको काम दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले निर्माणमा रोक लगाएको हो ।

नगरपालिकाको बजेटमा निर्माण हुँदै गरेको उक्त सडक नेपाली भुमिमै पर्ने भए पनि संयुक्त सीमा सर्वे टोलिले सीमा नछुट्याए सम्म निर्माण कार्य नगर्न भन्दै भारतीय पक्षले निर्माणकार्य रोकेको हो । बेलौरी नगरपालिकाको ८ लाख र स्थानीयको १लाख ६० हजारको लागतमा उक्त सडकको निर्माणकार्य शुरु भएको थियो । नेपाली पक्षले आफ्नै भुमिमा सडक बनाउन लाग्दा रोक्न खोज्नु एसएसबीको दादागिरी हो भारतीयहरुले दशगजा मिच्दा पनि नदेख्ने तर नेपालीले आफ्नै क्षेत्रमा सडक बनाउदा रोक्नुको अर्थ सीमा अतिक्रमणको प्रयास भएको बेनपा-१० सडकघाटका स्थानिय कालू चन्दले बताए ।

नेपाल-भारतको वास्तविक दशगजा निर्माणाधीन सडक भन्दा झण्डै ५०० मिटर दक्षिण तर्फ भए पनि सो स्थानबाट धेरै वर सडक बनाउदा रोक लगाउन खोज्नु अनुचित र अतिक्रमणको प्रयास भएको सटकघाटका स्थानिय बिबेक लम्सालले बताए । उक्त स्थानमा देखिएको बिवादको खबर पाएर बिवादित क्षेत्रमा पुगेका सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बेलौरीका सशस्त्र प्रहरी निरीक्षक भिमसिह थापा भन्छन”खबर पाउना साथ उक्त क्षेत्रमा पुगेको र भारतीय सीमा सुरक्षा बल एसएसबीले यहाँको सीमा बिवाद हल गर्न खटिएको संयुक्त सीमा सर्वे टोलिले सिमाङ्कनको टुंगो नलगाए सम्म निर्माण नगर्न भने पछि निर्माणको काम अन्यौल बनेको हो ।