भक्तपुर : चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेका बालुवा खानीलाई माटो बिक्री वितरण गर्न स्वीकृति दिएको छ। आफ्नो खानी क्षेत्रको बालुवा तथा माटोको चोरी निकासी रोक्न नपा असफल भएको भन्दै बालुवा खानी सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि नपाले माटो् निकासी गर्न स्वीकृति दिएको हो।
नगरपालिकाको कार्यपालिकाको बैठकले चाँगुनारायण नगरभित्रका बालुवा खानी सञ्चालकहरुलाई माटो निकासी गर्न दिने निर्णय गरेको हो। बैठकले नगर बाहिरिने करिब १० वटा नाकामा कर्मचारी खटाएर माटो निकासी गर्न दिने निर्णय गरेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।
प्रमुख मिश्रले तत्काललाई बालुवा खानी भने सञ्चालनमा नआउने बताए। २०७२ सालको भूकम्पअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँका सम्पूर्ण बालुवा, ढुंगा तथा माटो खानीका फाइलहरु नियन्त्रणमा लिएको थियो। तर अहिलेसम्म अख्तियारबाट उक्त फाइल फर्केको छैन। अख्तियारले फाइल नियन्त्रणमा लिएलगत्तै तत्कालीन जिल्ला विकास समितिले भक्तपुरमा सञ्चालनमा रहेका सम्पूर्ण खानी बन्द गराएको थियो। उक्त बेला बन्द भएको खानी अहिलेसम्म बन्दको बन्द हुँदा व्यवसायीहरुले लाखौं रुपैयाँ ऋणको भार बोक्नु पर्दै आएको थियो।
खानी सञ्चालन हुने आशैआशमा खानी चल्दाका मजदुर, चालक, सहचालक र उपकरणको खर्च आफूहरुले बोक्दै आएको बालुवा खानी व्यवसायी विदुर आले बताउँछन्।
चाँगुनारायण नपाले बालुवा खानीबाट माटो निकासी खुला गरिएपनि कुनै पनि हालतमा बालुवाको चोरी निकासी हुन नदिने बताएको छ। नगर प्रमुख मिश्रले माटो निकासी हुने गाडीको राजस्व उठाउने कर्मचारीहरुले नै बालुवा चोरी निकासी भए नभएको जाँच गर्ने बताए।
‘नगर क्षेत्रका बालुवा खानी सञ्चालनको लागि हामीले अख्तियारमा फाइल फिर्ताको पहल निरन्तर गर्दै आएका छौं’, उनले भने, ‘अख्तियारबाट फाइल फिर्ता नआएसम्म कुनै पनि हालतमा अवैध रुपमा बालुवाको चोरी निकासी हुन दिइनेछैन।’
उनका अनुसार माटो निकासी गरेवापत व्यवसायीहरुले नपालाई कर तिर्नुपर्नेछ। हाललाई प्रथम नगरसभाले पारित गरेको करमात्रै लिइने प्रमुख मिश्रले स्पष्ट पारे। प्रथम नगरसभाले पारित गरेअनुसार प्रतिट्रक तथा ट्रिपरको तीनसय, मिनि ट्रकको दुई सय, निशानको एकसय पचास र ट्याक्टरको पचास रुपैयाँ राजस्व लिइनेछ।
चाँगुनारायण नगरको निर्णयानुसार चाँगुनारायण नगर क्षेत्रका करिब २६ वटा बालुवा खानीहरुले नपालाई कर तिरेर आफ्नो खानी क्षेत्रको माटो निकासी गर्न पाउने भएका छन्।
नपाले माटो निकासी गर्न स्वीकृति दिएपछि बालुवा खानी सञ्चालनको लागि संघर्ष गर्दै आएका व्यवसायीहरु केही राहत महसुस गरेका छन्। करिब तीन वर्षसम्म खाली हात रहँदै आएको खानीबाट अब केही आम्दानी हुने भएको उनीहरुको भनाइ थियो। जसबाट बैंकको ऋणको ब्याजमात्रै तिर्न भए पनि सजिलो हुने खानी व्यवसायी विदुर आले बताउँछन्।
‘खानीका मजदुर, चालक र सहचालकले काम पाइरहेका थिएनन्’, उनले भने, ‘अब उनीहरुले पनि काम पाउने भए। मेसिन चल्ने भए र गाडी गुड्ने भए।’ माटो निकासी स्वीकृतिसँगै बालुवा खानी सञ्चालन गर्न पाउने आशासमेत पलाएको अर्का व्यवसायी मकुन्द थापा बताउँछन्। उनले माटो निकासीको काम बढेसँगै आफ्नो खानी क्षेत्रको बालुवासमेत चोरिन नपाउने भएको सुनाए।







































