सुस्त मनस्थिति भएकालाई सीपमूलक तालिम

266

भक्तपुर : रोटरी क्लव अफ भक्तपुरले बौद्धिक अपांगता एवं सुस्त मनस्थिति भएकालाई सीपमूलक तालिम प्रदान गरेको छ । पाँच जना बौद्धिक अपांगता एवं सुस्त मनस्थिति भएकाहरुलाई फाइबरबाट क्युरियो एवं सजावटका सामान बनाउने सीपमूलक तालिम दिइएको हो । क्लवका अध्यक्ष केशव दिवाकरले युवा उमेर भएर पनि बौद्धिक अपांगता तथा सुस्त मनस्थितिका भएकाले अरु सक्षम व्यक्तिसरह काम गरेर रोजगारीमा जान नसक्ने भएकाले स्वरोजगार बनाउन उक्त तालिम दिइएको जानकारी दिए ।

‘तालिमबाट उनको परिवारलाई पनि आर्थिक टेवा पुग्ने हाम्रो विश्वास रहेको छ’, उनले भने, ‘तालिम पाएकाहरुले बनाएको वस्तुको बजारीकरण पनि हामीले नै गर्ने उद्देश्य रहेको छ ।’

भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा भएको उक्त तालिमका प्रशिक्षिका ममिता दिवाकरले बौद्धिक अपांगता भएर पनि प्रशिक्षार्थीहरुले सामान्य व्यक्तिसरह सीप र ज्ञान हासिल गरेको जानकारी दिइन् ।

उनले प्रशिक्षार्थीहरुलाई रसायन मिसाएर फाइबरलाई माटोजस्तै गिलो बनाएर क्युरियो तथा सजावटका वस्तु बनाउने सीप सिकाएकी थिइन् । जसअनुसार, बुद्ध, देवदेवीको मूर्ति, मण्डला, ससाना बुट्टेदार झ्याल बनाउन सिकाएकी हुन् ।

‘बौद्धिक अपांगता भएका व्यक्तिहरुले पनि सामान्य व्यक्तिसरह तालिमबाट सिकेको कुरालाई व्यवहारमा उतारेका छन्’, उनले भनिन्, ‘उक्त सीपबाट आयआर्जन हुने कामतर्फ अग्रसर हुने विश्वास लिएकी छु ।’

रोटरी क्लव अफ भक्तपुरका सदस्य रञ्जित मारिखुले बौद्धिक अपांगता तथा सुस्त मनस्थिति भएका ५० भन्दा बढीलाई उक्त तालिम दिने लक्ष्य रहेको जानकारी दिए । त्यसैले उक्त तालिम लिन इच्छुक व्यक्ति तथा तिनका परिवारलाई रोटरी क्लव अफ भक्तपुरमा सम्पर्क गर्न उनले अनुरोध गरे ।
उक्त तालिम प्राप्त गरेकाहरुले उत्पादन गर्ने वस्तुलाई उनीहरुकै ब्राण्ड दिएर क्लवले नै बजारीकरण गर्ने उनको भनाइ थियो ।

सात दिनसम्म भएको तालिममा काभ्रेको बनेपास्थित आदर्श बाल विकास केन्द्रका पाँचजना बौद्धिक अपांगता तथा सुस्त मनस्थिति भएकाहरुको सहभागिता रहेको थियो । उक्त तालिमको लागि आवश्यक सम्पूर्ण खर्च क्लवका अध्यक्ष केशव दिवाकरले व्यहोरेका थिए ।