काठमाडौं । आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदै छ ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।
नागरिक स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
शहीद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने छ । यसैगरी अपराह्न ‘प्रथम शहीद’ लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदका सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम गर्न लागिएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेको हो ।
स्मारक निर्माण भएपछि शहीदढोकाका चार शहीदको शालिक पनि गोकर्णमै स्थानान्तरणका लागि सरकारीस्तरबाट निर्णय भएको स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए । गोकर्णको जगडोल ९यज्ञडोल० सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद संग्रहालय, शहीदसम्बन्धी अध्ययनअनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७५ वैशाखदेखि नै स्मारक सञ्चालनमा ल्याउने मन्त्रालयको योजना छ ।
कति सहिद छैन ? सरकारलार्इ नै थाहा छैन
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइदै आएको छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकीन तथ्यांक छैन ।
नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीद– शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ ।
पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले सहादत प्राप्त गरेका छन् । विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख आर्थिक सहयोग गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै २०६२(६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरिएको थियो ।
सरकारसँगै छैन तथ्यांक
दोसो जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गर्ने गरिएकामा सर्वसाधारणको गुनासो छ ।
पछिल्लो पटक सरकारले माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमेश ढकालले जानकारी दिए ।
मन्त्रालयले शहीदको तथ्यांक सूची संकलन गरी अभिलेख राख्न शुरु गरेको छ ।तर, हालसम्म कति शहीद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन ।
सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःस्थापना मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई शहीद घोषणा गरेको थियो ।
त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्यांक देखिँदैन । साथै पटकपटकको तराई मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका कति व्यक्तिलाई शहीद घोषणा गरियो भन्ने यकिन तथ्यांक भेटिँदैन ।
मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहिद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ ।
आवश्यक मापदण्डबिना हचुवाका भरमा शहीद घोषणा गर्दा वास्तविक शहीदप्रति अपमान महसुस भएको २०६२(६३ को जनआन्दोलनका क्रममा कलंकीमा सहादत प्राप्त गरेका शहीद स्व प्रद्युम्न खड्काकी श्रीमती प्रभा खड्काको भनाइ छ ।
कसलाई शहीद भन्ने र कसलाई नभन्ने भन्नेमा विवाद आउन थालेपछि सरकारले २०६२(६३ सालको जनआन्दोलनपछि त्यसलाई व्यवस्थित गर्न दुई आयोगसमेत बनायो तर, त्यसको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन भएको छैन ।







































