७ कक्षाका विद्यार्थीले उडाए ड्रोन,अक्षरा शैक्षिक प्रदर्शनी २०७४

814

आर्कषणको केन्द्र ड्रोन 

काठमाडौं । काँडाघारी स्थित अक्षरा स्कुलको ७ कक्षामा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ शुरु भयो ।


कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेतापनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको पहिलो घटना भएको बताइन्छ ।


कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले उद्घाटन गर्दै अक्षरा स्कुल कागेश्वरी मनोहरा नगरपालिकाकै गहना भएको उल्लेख गर्नुभयो ।


शैक्षिक प्रर्दशनीमा विद्यालयका सबै विद्यार्थी सहभागी भएर विभिन्न शैक्षिक स्टलहरु राखेका थिए । प्रर्दशनीमा विज्ञान, नेपाली, इतिहास, भुगोल, प्रदेश, जलविद्युत, सडक, कम्प्युटर, मोवाइल र यससंग सम्वन्धित सफ्टवेयर लगायत गरि ६० स्टल समावेश रहेको विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराईले बताउनुभयो ।


विद्यार्थीमा अन्तर्नीहित प्रतिभा उजागर गर्ने र कक्षामा सिकेका कुरा व्यवहारमा उतार्न सो प्रदर्शनी आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताउनुभयोे ।
प्रर्दशनी हेर्न काँडाघारी र आसपासका विभिन्न २ दर्जन विद्यालयका विद्यार्थीको साथै अभिभावक र शुभचिन्तकहरुको सहभागिता थियो ।