नेविसंघको विवाद चरम उत्कर्षमा दुई गुटका नेता वार कि पारको अवस्थामा

406
 भक्तपुर । नेपाल बिद्यार्थी संघको विवादलाई लिएर केन्द्रीय पदाधिकारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । नेविसंघको राष्ट्रिय महाधिवेशन आउन ६ महिना मात्र बाँकी रहँदा दुई गुटका नेताहरुबीच एउटै मञ्चमा वार कि पारको अवस्था सिर्जना भएको हो ।
लामो समयसम्म महाधिबेशनको गतिबिधिलाई लिएर वर्तमान कार्यसमिति मौन रहेको बिषयमा उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् । अध्यक्ष नैनसिंह महरले संघमा देखिएको विवाद अहिलेको नभई २० बर्ष अघिको नेतृत्वको गुटउपगुटको कारण भएको भन्दै उनले यस अघिको नेतृत्वले आफूले नेबिसंघ समाल्दा कुहिएको फर्सि दिएको र यसलाई आफू र अहिलेको नेतृत्वले जोगाई राखेको बताउनुभयो ।
आगामी महाधिवशेन पार्टी भित्रको गुटउपगुटका साथै कुनैपनि शक्तिले रोक्न नसक्ने भन्दै अध्यक्ष महरले यसका लागी केन्द्रीय समितिले आबश्यक तयारी अघि बढाइसकेको जानकारी दिए । उनले नेविसंघको आगामी महाधिवेशन तोकिएकै समयमा हुने बताउँदै महाधिवेशन इन्द्रेको बाउ चन्द्रे आए पनि कुनै पनि हालतमा नरोकिने र सम्पूर्ण क्षेत्र, जिल्लाका साथीहरुलाई देशभरबाट यसको तयारीमा जुट्न आह्वान गर्नुभयो ।
नेपाल विद्यार्थी संघका केन्द्रीय कोषाध्यक्ष शिव रिमालले संघमा देखिएको गुटउपगुटको कारण संघ धरासायी हुँदै जानुका साथै विभिन्न जिल्ला र केन्द्रमै आपसी द्वन्द्व बढेको बताउनुभयो ।
उहाँले नेविसंघमा विवाद रहेको ११ जिल्लाको अधिवेशन अहिलेसम्म नगरेको, आफुनिकाट व्यक्तिहरुलाई अध्यक्षले मनोमानी ढंगले मनोनित गरेको, प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेविसंघलाई सशक्त रुपमा परिचालन गर्न नसकेको, नेविसंघको १२ औं महाधिवेशनको तयारी नगरेको र स्वतन्त्र विद्यार्थी युनियनमा अरु दलका विद्यार्थीहरुको मुद्दा बोकेको भन्दै अध्यक्ष नैनसिंह महरको तीव्र आलोचना गर्नुभयो ।
अहिलेकै तरिकाले नेतृत्व अगाडि बढ्ने हो भने आफू कार्यसमिति भित्रबाटै सङ्ग्रस गर्ने चेतावनी समेत दिनुभयो । खाली नेतृत्वमा जान आतुर हुने र नेतृत्वमा पुगिसकेपछि वीपीको विचार, नेपाली कांग्रेसको इतिहास, विभिन्न कालखण्डमा नेपाली कांग्रेसको र नेविसंघको भूमिकाको बारेमा जानकार बिहिन हुनखोज्दै बर्तमान नेतृत्वले इतिहास रचेको ने.बि.सघलाइ इतिहासमा सिमित गर्न लागेको आरोप लगाउनुभयो ।
नेविसंघको मर्म भावना र मान्यता बुझेका, संगठनको विभिन्न तह, एकाई क्षेत्र र जिल्लामा रही दुःख गरेकाहरुलाई सडकमै सुताउने कार्य वर्तमान नेतृत्वले गरेको आरोप कोषाध्यक्ष रिमालको छ ।
उहाँले नेविसंघको महाधिबेशन समयमै हुनुपर्नेे आफ्नो प्रमुख माग रहेको बताउनुभयो साथे वर्तमान अध्यक्षले आफ्नो मनोमानी नरोके त्यसको कडा प्रतिरोधमा उत्रने समेत उहाँले चेतावनी दिनुभयो ।