राष्ट्रिय सभाको निर्वाचनबारे थाहा पाउनै पर्ने १३ तथ्य

294

काठमाडौँ :  संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि अब भोलि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। राष्ट्रिय सभाको निर्वाचन बारे थाहा पाउनै पर्ने  तथ्य

१)    मतदान कहिले?

माघ २४ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदान हुनेछ। सातवटै प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले मतदान गराउने छन्।

२)    कसले गर्छन् मतदान?

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभाका सदस्य र स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) का प्रमुख र उपप्रमुखले सम्बन्धित प्रदेशको मतदान केन्द्रमा मतदान गर्छन्। कूल २,०५६ मतदाता रहेकामा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित हुनु भएकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

३)    एक भोट बराबर कति गणना?

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ रहेको छ। अर्थात् उनीहरु प्रत्येकको एक भोट बराबर १८ भोट गणना हुनेछ। त्यसैगरी प्रदेश सभाका ५५० मतदाता प्रत्येकको मतभार ४८ हुन्छ। अर्थात् उनीहरुको एक भोट बराबर ४८ भोट गणना हुन्छ।

४)    कुन प्रणालीमा मतदान?

प्रतिनिधि सभा र प्रदेश सभाका लागि सबैभन्दा बढी मत पाउने जित्ने प्रणाली र समानुपातिक प्रणालीमा मतदान भएको थियो भने राष्ट्रिय सभा निर्वाचनका लागि सबैभन्दा बढी मत पाउने जित्ने प्रणाली र एकल संक्रमणीय मत प्रणाली लागू गरिएको छ। एकल संक्रमणीय मत प्रणालीका बारेमा एमाले र कांग्रेसबीच लामो विवादपछि अन्ततः सरकारले चाहे जस्तै गरी अध्यादेश जारी भएपछि यो प्रणालीमा निर्वाचन हुन लागेको हो।

५)    कति जना निर्वाचित हुन्छन्?

प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेको छ। प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन्।
महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणाली अनुसार मतदान हुने छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छन्।

६)    कति दल सहभागी? कति उम्मेदवार?

यस निर्वाचनका लागि जम्मा २१ राजनीतिक दलले भाग लिन आयोगमा निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट जम्मा ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो। ६ जना उम्मेदवारले नाम फिर्ता लिएका थिए भने एक जना उम्मेदवारको उम्मेदवारी रद्द भएको थियो। २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छन्।

७) ६ वटा प्रदेशमा मात्रै मतदान

भोलि हुने निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउनका लागि १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको थियो । तर प्रदेश नम्बर २ मा आठै जना सदस्यहरू निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ मतदान गर्नु पर्दैन। अब बाँकी ६ वटा प्रदेशमा मात्रै मतदान हुनेछ।

८)    कुन प्रदेशमा केका लागि मतदान?

प्रदेश नम्बर १ 
•    महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित
•    दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १  गरी जम्मा २ सदस्यका लागि  मतदान हुने

प्रदेश नम्बर २ 
सबै निर्विरोध निर्वाचित

प्रदेश नम्बर ३
सबै आठ वटै स्थानका लागि मतदान

प्रदेश नम्बर ४
•    अपाङ्गता भएका वा अल्पसङ्ख्यक  समुदायबाट १ सदस्य निर्विरोध निर्वाचित
•    महिला तीन, खुला तीन र दलित एक सदस्यका लागि निर्वाचन

प्रदेश नम्बर ५
•    महिला ३ सदस्य निर्विरोध निर्वाचित
•    खुला तीन, दलित एक र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट एक गरी पाँच सदस्यका लागि निर्वाचन

प्रदेश नम्बर ६
•    सबै आठ वटै सदस्यका लागि निर्वाचन

प्रदेश नम्बर ७
•    महिला ३ र अन्य ३ गरी ६ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वाचित
•    दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यमा निर्वाचन

९)    मतदान गर्दा स्वस्तिक चिह्नको प्रयोग नहुने

विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वतिक चिह्नको प्रयोग हुने छैन। मतदानका लागि प्रदेश सभाका सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङ्गको मतपत्रमा मत सङ्केत गर्नेछन्।

तीन महिला र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ भने महिला १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्नेछ।

१०)    बदर मतको घाटा

स्थानीय तहका मतदाताले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेश सभा सदस्यले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुन्छ। एउटै पनि मत बदर नहुने गरी मत संकेत गर्न र गर्ने व्यवस्था मिलाउनका लागि आयोग सबै राजनीतिक दल, उम्मेदवार र निर्वाचनका लागि खटिएका कर्मचारीहरूसँग निर्वाचन आयोगले अपील गरेको छ।

११)    मतगणना गर्न तथ्याङ्क विभागका विज्ञ

एकल संक्रमणीय निर्वाचन प्रणालीको मतगणना प्राविधिक हुने भएकोले जटिल हुन्छ। यस्तो प्रणालीमा जित्नका लागि आवश्यक मतसंख्या प्राप्त गरिसकेपछि उब्रिएको मत दोस्रो प्राथमिकताका उम्मेदवारमा सर्ने हुन्छ। त्यसैले मतगणनाका लागि तथ्यांक विभागबाट तीनजनाका दरले विज्ञ खटाइएको छ। छ वटै प्रदेशमा तीनजना विज्ञ र दुईजना प्रशासनिक गरी पाँचजनाको गणना टोली पठाइसकेको छ।

१२)    मतपरिणाम कहिले?

आयोगले मतदान सकिए लगत्तै मत गणना कार्य सुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।  आयोगले सकेसम्म भोलि माघ २४ गते नभए पर्सि २५ गतेसम्म सबै पदको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ।

१३)    के हो राष्ट्रिय सभा?

नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ। राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुनेछ तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक अहिले भइरहेको निर्वाचनबाट जित्ने सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ।