भक्तपुर । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा मंगलबार भक्तपुर पुर्ण रुपमा संगीतमा रम्एको थियो । भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिक विद्यालयमा कण्डम दिवसका अवसरमा भएको म्युजिक कन्सर्ट मार्फत भक्तपुरवासी पुर्ण रुपमा संगीतमा डुवेका हुन् ।
एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा भक्तपुरस्थित सुरुवातले जनचेतनामूलक उक्त म्युजिक कन्सर्ट गरेको हो ।
फेब्रुअरी १३ का दिने विश्वभर मनाइने कन्डम दिवस नेपालमा भने भक्तपुरमा मनाइएको हो ।
एएचएफ कार्यरत विश्वका ४० देशमा एकै समय भएको म्युजिक कन्सर्टअन्तर्गत नेपालको भक्तपुरमा भएको हो ।
भक्तपुर दरबार क्षेत्रमा भएको म्युजिक कन्सर्टमा युवाहरुका आकर्षण चर्चित पप गायक एड्रिन प्रधानले एकघन्टाभन्दा बढी आफ्ना चर्चित गीतहरु प्रत्यक्ष प्रस्तुत गरेका थिए ।
उनका आफ्ना चर्चित गीतहरुको प्रस्तुतिमा युवायुवतीहरु झुम्मिएका थिए । निर्धारित समयमा आफ्नो प्रस्तुति सकाएका उनले दर्शक तथा स्रोताहरुको आग्रहमा थप गीत प्रस्तुत गर्नुपरेको थियो ।
त्यस्तै कन्सर्टमा भक्तपुरका गायकद्वय रोशन धौभडेल र मानस राजले आफ्ना चलेका दुईदुई गीत प्रस्तुत गरेका थिए । भक्तपुर सांगीतिक समाजमा आवद्ध दुई गायकसँगै धिमेलगायतका परम्परागत नेवारी बाजाहरुका वादिका इन्दिरा लाछिमस्युले आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा उदीयमान युवा गायक सौगात राई र उनको समूहले पनि सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कन्डम मार्चपास र कन्डमसमेत वितरण गरिएको कार्यक्रममा निःशुल्क एचआईभी जाँचको व्यवस्था गरिएको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले युवाहरुलाई एचआईभी तथा विभिन्न यौनजन्य रोगहरुको संक्रमण हुन नदिने कन्डमको सही प्रयोग गर्नेबारे जनचेतना फेलाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।
त्यस्तै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले युवाहरुलाई स्वास्थ्यका दृष्टिले सुरक्षित गर्नुपर्ने अहिलेको आवश्यकता भएको औंल्याए ।
कार्यक्रममा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेलले स्वागत र सुरुवातका निर्देशक राजेश दिदियाले धन्यवादज्ञापन गरेका थिए ।