‘विद्यार्थी कुट्ने शिक्षकलाई ५ हजार जरिवना ?’ चित्त बुझेन

352

बलराम प्यासी
काठमाडौं ।पढ्न गएका आफ्ना नावालक छोरालाई कुटपीट गरि घाइते बनाउने शिक्षक र सम्वन्धित विद्यालय र प्रिन्सिपलमाथि कडा कारवाहीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा एकवर्षअघि दायर मुद्धामा अदालतले दोषि शिक्षकलाई ५ हजार रुपैयाँमात्रै जरिवना गराउने फैसला सुनाएपछि पीडित विद्यार्थीका पितालाई चित्त बुझेको छैन ।


इलाम जिल्ला रोङ गाउँपालिका ३ स्थायी घर भई हाल काठमाडौं ६, महाँकाल बौद्ध बस्दै आएका गायक मोहन राईले आफ्नो ११ वर्षिय छोरा जेनिश राईलाई उनी अध्यनरत नयाँबानेश्वरको एम्बिशन एकेडेमी हाइएर सेकेण्डरी स्कुलका अंग्रेजी विषयका शिक्षक दावा मोक्तानले कक्षाकोठामा कुटेर घाइते बनाएका थिए ।

विदालयमा चरम शारिरीक यातनाका कारण विद्यार्र्थी जेनिश राईको बायाँ आँखानेर चोट लागेको र सोही चोटका कारण उनी विरामी भएकोले बाबु मोहनले जेनिशलाई तत्कालै कान्ति वाल अस्पतालमा भर्ना गरी उपचार गराएका थिए ।

५ कक्षामा अध्यनरत वालक जेनिश राई आफ्नो कक्षाका क्याप्ेटनलाई सोधेर कलममा मसी भर्न जाने क्रममा १७ फागुन २०७३ आइतबार शिक्षक मोक्तानले उनीमाथि चरम शारिरीक यातना दिएको आरोप लगाउँदै उनका पिता मोहन राईले दोषि विद्यालय, शिक्षक, सम्वन्धित विद्यालयका प्रिन्सिपल विष्णु घिमिरे, विद्यालय व्यवस्थापन समिति सहित ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गतवर्षको ६ चैतमा मुद्धा दर्ता गराएका थिए ।

सो मुद्धाको २९ माघमा फैसला गर्दै काठमाडौं जिल्ला अदालतका न्यायधिश अशोककुमार बस्नेतले दोषि शिक्षक दावा मोक्तानलाई ५ हजार रुपैयाँ जरिवना गराउने फैसला गरेका थिए ।

फैसला अनुसार ३ महिनाभित्र दोषि शिक्षक दावा मोक्तानले अदालतमा ५ हजार रुपैयाँ जरिवना नबुझाए मात्रै उनलाई रोजगार दिने विद्यालय एम्बिशन एकेडेमीले पीडित विद्यार्थी राईलाई ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको पीडित विद्यार्थीका बाबु मोहन राइले बताए ।

‘हामी फैसलाको पूर्णपाठको प्रतिक्षामा छौं, हामीलाई काठमाडौं जिल्ला अदालतले गरेको फैसला पटक्कै चित्तत्र बुझेको छैन’ पीडितका बाबु मोहनले भने । ‘पुर्ण पाठ आउन डेढ महिना लाग्छ भनेको छ, फैसलाको पूर्णपाठ आएपछि पुनरावेदनको लागि उच्च न्यायालय र सर्वाेच्च अदालतसम्म जान्छौं’ उनले भने ।

‘५ हजार रुपैयाँ जरिवना तिराएर दोषि शिक्षकलाई उम्काउन मिल्छ ? अरु दोषिमाथि कारवाही र क्षतिपूर्ति खोइ ?’ पीडितका बाबु मोहनले आक्रोश पोखे । मैले पीडित विद्यार्थीले न्याय पाओस र भविष्यमा कुनैपनि विद्यालयमा यस्ता घटना नदोहोरिउन भनेर राम्रो नजिर बसोस भनेर मुद्धा दर्ता गरेको थिएँ, तर न्याय पाइएन’ उनले गुनासो गरे ।

पढ्न पठाएको नावालक छोरामाथि चरम शारिरीक यातना दिने शिक्षकमाथि कारवाही नगरी उल्टै आफुलाई धम्क्याउने विद्यालयका प्रिन्सिपल विष्णु घिमीरे, दुवैलाई कारवाही नगरी घटना ढाकछोप गर्ने सम्वन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति, सम्वन्धित विद्यालय (एम्बिशन एकेडेमी हाइएर सेकेण्डरी स्कुल) र उजुरीमाथि कारवाहीको लागि थप सहयोग नगर्ने महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर गरी ५ जनाविरुद्ध पीडित वालकका बाबु मोहनले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।
पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता रामजी विष्ट र अधिवक्ता विजयराज शाक्यले वहश गरेका थिए ।

श्री काठमाडौं जिल्ला अदालतबाट
शिक्षक दावा मोक्तानलाई जरीवाना
बादी ( जेनिस राई विरुद्ध प्रतिबादी (एम्बिशन एकेडेमी हायर सेकन्डरी स्कुलका शिक्षक दावा मोक्तान समेत भएको क्रुर यातनापुर्ण व्यवहार मुद्दामा मिति २०७४साल माघ २९ गतेका दिन श्री काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश श्री अशोक कुमार बस्नेतज्युले फैसला गर्नु भएको छ।उक्त फैसलामा प्रतिबादी दावा मोक्तानलाई रु ५०००र( पाच हजार जरिवाना सजाय गरेको छ भने निजले उक्त रकम ३महिना भित्र जरिवाना नबुझाए एम्बिशन एकेडेमी हायर सेकेन्डरी स्कुल रोजगार दाताको हैसियतले रु ३५०००र( पैतिस हजार क्षतिपूर्ति विद्यार्थी जेनिस राईलाई तिर्नु बुझाउनु पर्ने उल्लेख छ। झुठ्ठा वकपत्र मुद्दा वादी दाबी नपुग्ने फैसला भएको छ। तर विद्यार्थी जेनिस राईको मागदाबी अनुसार श्री काठमाडौं जिल्ला अदालतले कैदको सजाय नगरिएकोले विद्यार्थी जेनिस राईलाई उक्त फैसला चित्त नबुझेकोले उच्च अदालत पाटनमा पुनराबेदन गर्ने जनाएको छ। फैसलाको पूर्ण पाठ तयार भइ नसकेकोले पूर्ण पाठ तयार भएर प्राप्त भए पछि पत्रकार सम्मेलन गरि सबै
महानुभावहरुलाई जानकारी गराउनेछौ। यस मुद्दामा वादी पक्षबाट बरिस्ठ अधिवत्ता रामजी बिष्टज्यु र अधिवत्ता बिजय राज शाक्यज्युले बहस गर्नु भएको थियो ।