रकम लिएर बलात्कारको घटना मिलाउने दुई जना पक्राउ

229

पाँचथर / पाँचथरको तुम्बेवा गाँउपालिका–३ मा भएको बलात्कारको घट्ना गाँउमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।

जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा सम्लग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेलाई नियन्त्रणमा लिएको हो । बलात्कारको घट्नामा संलग्न भनिएका मनकुमारलाई प्रहरीले गत माघ २१ गते नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

“हामीले गाँउमै मुद्दा मिलायौँ भन्दै प्रहरीमा आइपुगेका उनीहरुले पीडितका आफन्तलाई आर्थिक प्रलोभन देखाई पीडकलाई उन्मुक्ति दिन खोजेकाले नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो” जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले भन्नुभयो, उनीहरुले बालिकाकी आमालाई आर्थिक प्रलोभन देखाई घट्ना भएको होइन् भन्ने दाबी गर्न लगाएका थिए ।

तर, मुद्दा मिलाउन बालिकाकी आमासहित प्रहरीमा पुगेका उनीहरुलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दामा कारबाही चलाएको हो ।

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बैतडी / जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ ।

गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका–१ का १८ वर्षीय भरतराम लुहारलाई जबर्जस्तीकरणीमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजाय सुनाएको छ ।

सोही ठाउँका २७ वर्षीय मनोजराम दयाललाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।