पहिलोपटक स्थानीय कानून प्रदेश सरकारलाई बुझाइयो

275

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय कानून निर्माण गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रदेश नम्बर ५ मैं तिलोत्तमाले पहिलोपटक प्रदेश सरकारलाई कानून बुझाएको हो ।

नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित भएपछि कार्यालयले त्यसको जानकारी प्रदेश सरकारलाई गराएको हो ।  स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार नगरपालिकाको एक टोलीले बिहीबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई स्थानीय कानूनको एक प्रति हस्तान्तरण गरेको हो । स्थानीय कानूनको संगालो बुझाउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, कानूनी सल्लाहकार तथा कानून मस्यौदा समितिका संयोजक अधिवक्ता खुमकान्त पौडेल, प्रेस सल्लाहकार बीपी गौतमको टोली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवल पुगेको थियो ।

स्थानीय कानून हस्तान्तरणका अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश नं. ५ मैं तिलोत्तमाले यसरी स्थानीय कानून राजपत्रमा प्रकाशित गरेर प्रदेश सरकारलाई बुझाएकोमा प्रशंसा व्यक्त गरे । नगर प्रमुख बासुदेव घिमिरेबाट प्रमाणिकरण गरिएका ती ऐन, नियमावलीहरु नगरबासीलगायत सम्बद्ध सबैको जानकारीका लागि गत आईतवार राजपत्रमा प्रकाशित गरिएका थिए ।

नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम तिलोत्तमा नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरेको थियो । राजपत्रमा प्रकाशित भएसँगै स्थानीय कानून कार्यान्वयमा आएका छन् ।

तिलोत्तमा राजपत्रमा ‘केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन,
केही सार्वजनिक लिखत प्रमाणिकरण र प्रकाशन (कार्यविधि) ऐन, आर्थिक
कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, कृषि व्यवसाय प्रवद्र्धन
सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफ.एम. रेडियो (व्यवस्थापन तथा संचालन)
कार्यविधि ऐन, सहकारी ऐन, शिक्षा नियमावली’ प्रकाशित गरिएको छ ।
यस्तै बजार अनुगमन निर्देशिका, बैठक सञ्चालन कार्यविधि, पदाधिकारीको
आचारसंहिता, कार्यसम्पादन नियमावली, नगरसभा सञ्चालन कार्यविधि पनि राजपत्रमा प्रकाशित गरिएको छ ।

तिलोत्तमा नगरपालिकाले नेपालको संविधान २०७२ ले दिएको अधिकार क्षेत्रमा रही
स्थानीय कानून निर्माण गरिएको जनाएको छ । संविधानको अनुसुची ८ मा
स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा
अधिकारहरुको सूची उल्लेख छ ।