नेपालमा जनसंख्याभन्दा मोबाइलका ग्राहक बढी

183

काठमाडौं– केन्द्रीय तथ्याङ्क विभाग (सीबीएस) को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजारभन्दा बढी छ ।

यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा भएको अनुमान गरिएको छ भने पाँच लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् ।

यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ ।

यसरी हेर्दा नेपालमा कति जनसंख्याको बसोबास छ भन्ने एकिन गर्न निकै कठिन छ । तर, नेपालमा दूरसञ्चार क्षेत्रका ग्राहक भने कुल जनसंख्याभन्दा बढी देखिन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री भइसकेको छ ।

यसरी हेर्दा नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल सिमकार्ड वितरण भएको छ । ल्याण्डलाइनसहित गरी अहिले नेपालमा ३ करोड  ७५ लाख ७६ हजार ग्राहक छन्, कारोबारमा खबर छ ।