विद्यालय बर्ष गाँठमा अभिभावकलाई प्रिन्सिपलको कविता सङ्ग्रह !

310

भक्तपुर । आफ्ना सन्तानलाई विद्यालय पठाएर शिक्षकको जिम्मा लाएका अभिभावकलाई कविता सङ्ग्रह उपहार दिइएको छ ।
भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल राजेन्द्र कोजूको कविता सङ्ग्रह ‘चित्र र चरित्र’ शुक्रबार आयोजित वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उपहार दिइएको हो ।

विद्यालयको चौथौं वार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि, अतिथिलगायतबाट विमोचित उक्त कविता सङ्ग्रह कार्यक्रमकै बीचमा अभिभावकलाई उपहारस्वरुप दिइएको प्रिन्सिपल कोजूले बताए ।

सञ्चारकर्मी हरिसुन्दर छुकांको सम्पादन तथा रोम्बस एजुकेशनल रिसर्च एण्ड रिसोर्स सेन्टरले प्रकाशन गरेको उक्त कविता सङ्ग्रहको विमोचन भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, कवि देवी नेपाल, बाल मनोविद् सानु अमात्य र विद्यालयका संस्थापक सदस्य सरिता कोजूले गरेका थिए ।

‘विद्यालयलाई हरेक हिसाबले सहयोग गर्ने अभिभावकलाई विद्यालयको वार्षिकोत्सवमा केही नयाँ कुरा दिउँ भनेर प्रकाशन गरेको यो कविता सङ्ग्रह अभिभावकलाई उपहार दिएका हौं ।’ प्रिन्सिपल कोजूले भने ।

उनले समाज प्रविधिमय बन्दै गएको बेलामा विद्यार्थीहरुमा परेको प्रभाव कम गर्न तथा साहित्य सिर्जनामा सघाउ पुर्याउनका लागि अभिभावकलाई सङ्ग्रह उपहार दिइएको बताए ।

‘विद्यालय साहित्यको उर्वर भूमि हो, विद्यालयका शिक्षकहरु साहित्य अनुरागी भएमा त्यसैअनुरुप विद्यार्थीहरु पनि लाग्ने भएकोले पनि सङ्ग्रह तयार गरेको हुँ’ प्रिन्सिपल कोजूले भने, ‘ यसबाट अभिभावकहरु पनि उत्साहित हुनेछन् ।’

सोही अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई विभिन्न पदक पनि प्रदान गरिएको थियो । कार्यक्रममा मेयर प्रजापतिले नयाँ पुस्तालाई सही मार्ग देखाउने काम शिक्षक र अभिभावकले नै गर्ने भएको बताए ।

उनले नया पुस्तालाई शिक्षा केका लागि भन्ने चेतना दिएर प्रशिक्षित गर्दै लग्नु जरुरी भएको उल्लेख गर्दै पैसाको निम्ति भन्दा पनि सभ्य समाज निर्माणका लागि शिक्षा आर्जन गर्ने दिशातिर विद्यार्थीलाई लग्न जरुरी भएको जनाए ।

कार्यक्रममा साहित्यकार नेपालले साहित्यको विकासको लागि सबै लाग्नुपर्ने र त्यसको काम शिक्षाबाटै सम्भव भएको उल्लेख गरे ।
‘एकजना सफल शिक्षकमा भावना हुन्छ, संवेदना हुन्छ, समाजबोध हुन्छ, जीवनबोध हुन्छ, युगबोध हुन्छ अनि जीवन र जगत्लाई हेर्ने स्पष्ट दृष्टिकोण हुन्छ ।’ प्रिन्सिपल कोजूको कवि व्यक्तित्वबारे टिप्पणी गर्दै साहित्यकार नेपालले भने ।
बाल मनोविद् सानु अमात्यले अभिभावक शिक्षामा जोड दिइन् भने प्रिन्सिपल कोजूले विद्यालयको प्रगति विवरणका साथै विद्यालयको भावी योजना सार्वजनिक गरेका थिए ।