भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले विद्यार्थीलाई प्रदान गरिरहेको शिक्षा केका लागि भन्ने निक्र्योल गर्नु जरुरी रहेको बताएका छन् ।
‘नयाँ पुस्तालाई सही मार्ग देखाउने काम शिक्षक र अभिभावकले नै गर्ने हो, यसको लागि शिक्षक र अभिभावकले शिक्षा के को लागि भन्ने कुरा बताउन सक्नुपर्छ ।’ उनले भने ।
भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलको चौथौं वार्षिकोत्सवको अवसरमा मेयर प्रजापतिले नयाँ पुस्तालाई शिक्षा केका लागि भन्ने चेतना दिएर प्रशिक्षित गर्दै लग्नु जरुरी भएको उल्लेख गर्दै पैसाको निम्ति भन्दा पनि सभ्य समाज निर्माणका लागि शिक्षा आर्जन गर्ने दिशातिर विद्यार्थीलाई लग्न जरुरी भएको जनाए ।
उनले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने अभ्यास थालनी गरिसकेको तथा स्थानीय तहमा आएको माध्यमिक तहसम्मको शिक्षालाई पूर्ण रुपमा बहन गर्न नगरपालिका तयार रहेको पनि बताए ।
मेयर प्रजापतिले भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न आफूहरु सक्रिय भई लागिरहेको बताउँदै देशको सेवा गर्ने जनशक्ति निर्माणमा विद्यार्थीलाई तयार गराउने शिक्षा नीतिमाथि पनि जोड दिए ।
सोही अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल राजेन्द्र कोजूको कविता सङ्ग्रह ‘चित्र र चरित्र’ मेयर प्रजापति, साहित्यकार देवी नेपाल, बाल मनोविद् सानु अमात्य र विद्यालयका संस्थापक सदस्य सरिता कोजूले संयुक्त रुपमा गरेका थिए ।
सञ्चारकर्मी हरिसुन्दर छुकांको सम्पादन तथा रोम्बस एजुकेशनल रिसर्च एण्ड रिसोर्स सेन्टरले प्रकाशन गरेको उक्त कविता सङ्ग्रहको विमोचनपछि साहित्यकार नेपालले साहित्यको विकासको लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।
‘एकजना सफल शिक्षकमा भावना हुन्छ, संवेदना हुन्छ, समाजबोध हुन्छ, जीवनबोध हुन्छ, युगबोध हुन्छ अनि जीवन र जगत्लाई हेर्ने स्पष्ट दृष्टिकोण हुन्छ, यसैले त्यो कार्यक्रमा शक्षिकले अगुवाइ लिनुपर्छ ।’ साहित्यकार नेपालले भने ।
कार्यक्रममा बाल मनोविद् सानु अमात्यले नयाँ पुस्तालाई प्रविधिले गाँज्दै लग्दा पथभ्रष्ट समेत बनाएको विषयलाई अभिभावकले पनि गम्भीरताका साथ लिनुपर्ने र सन्तानको शिक्षा र भविष्यप्रति जिम्मेवार भएर लाग्नुपर्ने बताइन् ।
उनले विद्यालयले समयसमयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि अनुरो गरिन् । विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले विद्यालयको प्रगति विवरणका साथै विद्यालयको भावी योजना सार्वजनिक गरेको सो कार्यक्रममा विद्यालयकी शिक्षक सरिता कोजू पनि विद्यालयका गतिविधिबारेमा चर्चा गरेकी थिइन् ।
विद्यालयको विकासमा उल्लेखनीय योगदान दिने अभिभावक, विद्यालयका विभिन्न कक्षामा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
सोही अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई विभिन्न पदक पनि प्रदान गरिएको थियो । कार्यक्रममा मेयर प्रजापतिले नयाँ पुस्तालाई सही मार्ग देखाउने काम शिक्षक र अभिभावकले नै गर्ने भएको बताए ।