नमस्कार ! जमिन खाली गरिदिनुस्

247

सुर्खेत– स्थानः वीरेन्द्रनगर–६, हटियालाईन
‘नमस्कार ! हामीले दिएको समयसीमा सकियो । अव सार्वजनिक जमिन खाली गरिदिनुहोस् । नभए हामी आइतबारबाट बल प्रयोग गरेर हटाउँछौं ।’ नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वडा अध्यक्ष मोतिलाल कँडेल, उपप्रमुख मोहनमाया ढकाल, कार्यकारी अधिकृत कृष्णबहादुर खड्का, अधिकृत प्रकाश पौडेललगायत नगरपालिकाका कर्मचारीहरु यसैगरी ब्यापारीका दैलोमा पुगेर अनुरोध गरिरहेका थिए ।

पटक–पटक सूचना जारी गर्दा पनि सार्वजनिक जमिन अतिक्रमण गरेर बसेकाहरुले जमिन खाली नगरेपछि नगरपालिकाको टोली ‘अन्तिम पटक’ का लागि अनुरोध गर्न पसल–पसलमा पुगेको हो । ‘हामीले शनिबारसम्म अतिक्रमण क्षेत्र खाली गराउन अनुरोध गरेका छौं’ मेयर सुवेदीले भने, ‘आइतबारबाट बल प्रयोग गरेर भएपनि जमिन खाली गराउँछौं ।’

प्रदेश राजधानी वीरेन्द्रनगरभित्रका खाली ठाउँहरु अतिक्रमणको चपेटामा परेपछि नगरपालिकाले त्यस्ता ठाउँहरु खाली गर्नका लागि माघ २० गते पहिलो पटक सूचना जारी गरेको थियो । नगरपालिकाको अनुरोधलाई अटेर गर्दै सार्वजनिक क्षेत्र खाली नभएपछि अन्तिम पटकका लागि भन्दै जनप्रतिनिधि र कर्मचारीहरु व्यापारी कहाँ पुगेका हुन् ।

मेयर सुवेदीले प्रदेश राजधानीको मुटु भएकाले वीरेन्द्रनगरमा अतिक्रमित क्षेत्र हटाउन लागिएको बताए । उनले एउटै परिवारका चार–पाँच जनासम्म छरिएर फूटपाथमा व्यवसाय गरिरहेको भन्दै अतिक्रमित क्षेत्र खाली गर्न अन्तिम पटक आग्रह गरिएको बताए । उनले फुटपाथ व्यवसायका कारण शहरको सुन्दरतामा प्रतिकुल असर परेको पनि बताए ।

उपमेयर ढकालले नगरपालिकाले अतिक्रमित जग्गा खाली गराएरै छोड्ने बताइन् । ‘हामीले नगरबासीकै लागि यो निर्णय लिएका हौं, केही दिनभित्रै अतिक्रमित जमिन खाली गराएर छोड्छौं’ उनले भनिन्, ‘अतिक्रमण हटाउने अभियान सबैको साझा भएकाले साथ र सहयोगको अपेक्षा गरेका छौं ।’

भारत लखेट्न खोज्नु भएको हो ?
नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोली घण्टाघर नजिकैको अतिक्रमित क्षेत्रमा पुग्यो । वडा अध्यक्ष मोतिप्रसाद कँडेलले शनिबारसम्म टहरा र ठेला हटाउन अनुरोध गरे ।

‘शनिबार बेलुकासम्म अतिक्रमित क्षेत्र खाली गरेर हामीलाई सहयोग गर्नुहोस्’ वडा अध्यक्ष कँडेलले यसो भन्दा फुटपाथमा व्यवसाय गरिरहेका एक युवाले भने, ‘अध्यक्षज्यू, हामीलाई कहाँ पठाउनुहुन्छ ? भारत !’ युवाको यस्तो जवाफ पाएपछि वडा अध्यक्षले भने, ‘भारत, विदेश कहाँ जाने हो तपाईको इच्छा हो, हामी तपाईले अतिक्रमण गरेको क्षेत्र खाली भएको हेर्न चाहन्छौं ।’