‘राष्ट्रपतिले संविधानको उल्लंघन गरीन’ : निधि

230

डडेलधुरा ।
शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिसलाई उल्टायाएर राष्ट्रपति विद्या भण्डारीले संविधानको गम्भीर उल्लंघन गरेको नेपाली कांग्रेसका नेता एंव पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले आरोप लगाएका छन् ।
सात नम्बर प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागि हुनका लागि डडेलधुरा पुगेका नेता निधिले पार्टी कार्यालयमा कार्यकर्तासंगको भेटमा सबै निर्वाचन सम्पन्न गर्ने जिम्मा देउवा सरकारको भएकाले राष्ट्रियसभाका तीन जनाको सिफारिस गर्ने काम पनि निर्वाचन गराउने सरकारको भएको बताए ।
यदी निर्वाचन गराउने सरकार कामचलाउ हो भने राष्ट्रपतिको पनि नयाँ निर्वाचनको मिति तोकिएको छ । अहिलेको राष्ट्रपति पनि कामचलाउ नै हो । उहाँले कसरी नयाँ नियुक्ती गर्न पाउनुहुन्छ ?’ नेता निधिले राष्ट्रियसभा सदस्य नियुक्तीमा राष्ट्रपतिले चालेका कदमको कांग्रेसले कानूनी र राजनीति उपचार खोज्ने पनि बताए ।
नेता निधिले गत चुनावमा कांग्रेस पराजित भएपनि मुलुकको जीत भएको दावी गर्दै तीन तहको निर्वाचन सम्पन्न गरेर कांग्रेसले संविधान कार्यान्वयन गराएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको स्पष्ट पारे ।
चुनावका कांग्रेसको पराजयका केही आन्तरिक समस्या भएको बताउँदै उनले राष्ट्रियसभाको चुनाव र नयाँ सरकार गठनपछि मात्र चुनावको समिक्षाको प्रस्ताव केन्द्रीय समितिमा आफुले नै राखेको बताए । ‘तीन तहको चुनाव नभएको भए यतिबेलासम्मको सवै परिवर्तन धरापमा पर्ने भएकाले सिंगो कांग्रेसको ध्यान मुल प्रणालीको संस्थागत गर्नेमा केन्द्रीत भएको उनको दावी थियो ।
पार्टीको संसदीय दलको निर्वाचनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा आफु भएको भन्दै सर्वसम्मत नभएपनि निर्वाचनबाट नेतृत्व चयन हुने स्पष्ट पारे । सर्वसम्मत भएन भनेपनि पार्टी सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुनुहुन्छ— ’उनले भने ।
पार्टीमा अब चुनावको समिक्षा र नयाँ कार्यक्रमका बारेमा छलफल हुने बताउदै १४ औं महाधिवेशनबाट मात्र पार्टी नेतृत्व हुने उनले स्पष्ट पारे । ‘अहिले नै नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नु भनेको अलि अपरिपक्क विचार हो’ निधिले भने ।