बलराम प्यासी
काठमाडौं ।
नेपालकै सबैभन्दा महंगो नीजि अस्पतालको सूचिमा पहिलो नम्बरमा पर्ने थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारको लागि जानुभन्दा पहिले विरामीले आफ्नो वगली मात्रै हैन घुँडा पनि छाम्नुपर्ने भएको छ ।
‘मानवीय संवेदनालाई दुरुपयोेग (इमोशनल ब्ल्याकमेल)’ गर्दै विरामीसंग महंगो उपचार शुल्क लिने अस्पतालको रुपमा परिचित अस्पतालले विरामीको वगली रित्याउने गरेको मात्र नभई सो अस्पतालका चिकित्सकको लापरवाहीले देव्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेपछि विरामीले आफ्नो वगलीमात्रै हैन उपचार अघि घुँडा पनि छाम्नुपर्ने अवस्था आएको हो ।
उपचार गर्नुपर्ने घुँडाको उपचार नभई सद्धे घुँडा चिरिएपछि पिडित विरामीका आफन्तले अरुलाई यस्तो सल्लाह दिएका हुन । ‘नर्भिकमा उपचार गर्नु पहिले आफ्नो वगली र घुँडा छाम्नुस नत्र, तपाँइको सद्धे घुँडाको खैरियत छैन ।’
नर्भिक अस्पतालले गरेको अक्षम्य गल्तीपछि राजधानीका सानातिना अस्पतालले मात्रै नभई अन्तर्राष्ट्रियस्तरको अस्पतालमा कार्यरत चिकित्सकले पनि गम्भीर गल्ती गर्छन भन्ने कुरा पुष्टी भएको छ ।
देव्रे घुँडाको लिगामेण्ट च्यातिएर शल्यक्रियाको लागि नर्भिक अस्पताल पुगेकी भरतपुर महानगरपालिका ८ की ३८ वर्षिया विन्दु पौडेलको नर्भिकका चिकित्सकको लापरवाहीले गर्दा दाँहिने घुँडाको शल्यक्रिया भएपछि सो अस्पतालको गम्भीर लापरवाही सार्वजनिक भएको हो ।
अस्पतालका चिकित्सकद्वय प्रविण नेपाल र शैलेज रंजितकारले विरामीको देव्रेको साटो दाँहिने घुँडाको शल्यक्रिया गरिएपछि विरामीको ‘सम्पूर्ण उपचार निःशुल्क गर्ने र थप उपचारको लागि विदेश लानुपरे त्यसको खर्च पनि अस्पतालले नै व्यहोर्ने गरि’ विरामीका पति किशोर पौडेल र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहवीच ४ वुँदे उपचार सहमति भएको छ ।
पीडित विरामीका पतिसंग ४ वुँदे सहमतिमा हस्ताक्षर गर्दै अस्पतालको तर्फबाट ‘भूलवस मानवीय त्रुटी’ भएको बताएको छ । तथापि सो घटनाप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको र घटनाप्रति दुःख व्यक्त गर्दै भविष्यमा अस्पतालमा यस्ता घटना दोहोरिन नदिई सचेत रहने प्रतिवद्धता जनाएको छ ।
नर्भिकका चिकित्सकको मानवीय त्रुटीले भएको विरामी पौडेलको दाहिने घुँडाको उपचारमात्रै नभई शल्यक्रिया नै गर्नुपर्ने देव्रे घुँडाको शल्यक्रिया समेत सम्पुर्ण उपचार निःशुल्क गरिदिने, विरामी पूर्णरुपमा स्वस्थ नभएसम्म आवश्यक पर्ने सम्पूर्ण औषधिउपचार दिने,भविष्यमा सो अस्पतालमा निःशुल्क उपचारको लागि उपचार कार्ड या पत्र उपलब्ध गराउने, आवश्यक परेमा वीज्ञ चिकित्सकको राय लिएर थप उपचारको लागि विदेशमा समेत लैजाने विषयमा विरामीका पति र अस्पताल प्रशासनवीच सहमति गरिएको छ ।
सहमतिपत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह, गल्ती गर्ने चिकित्सकद्वय प्रविण नेपाल र शैलेज रंजितकार तथा विरामीका पति किशोर पौडेल र एकजना आफन्तवीच शनिबार हस्ताक्षर गरिएको छ ।