यी हुन् एमालेबाट पहिलोपटक मन्त्रीका लागि आकांक्षी

183

काठमाडौँ- एमालेभित्र ३० जनाभन्दा बढी नेता मन्त्रीका आकांक्षी छन् । पटक–पटक दोहोरिएकादेखि एकपटक पनि अवसर नपाएका पदाधिकारी तहका नेताहरू मन्त्रीका आकांक्षी छन् ।

यसपटक अवसर नपाएका पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो तहका राम्रा छवि बनाएका नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीमाथि छ ।

प्रदेश १ बाट सचिव योगेश भट्टराई, भानुभक्त ढकाल, यज्ञराज सुनुवार र वसन्त नेम्बाङ आकांक्षी छन् । उनीहरूमध्ये कसैले पनि मन्त्री बन्ने अवसर पाएका छैनन् ।

२ बाट रघुवीर महासेठ र सुमन प्याकुरेल आकांक्षी छन् । महासेठ एकपटक मन्त्री भइसकेका छन् ।

३ बाट कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, रामवीर मानन्धर, महेश बस्नेत आकांक्षी छन् । उनीहरूमध्ये श्रेष्ठ र बस्नेत एकपटक मन्त्री भइसकेका छन् ।

प्रदेश ४ बाट युवा नेता रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र पद्मा अर्याल छन् । अधिकारी, विश्वकर्मा र अर्यालले अवसर पाए पहिलोपटक मन्त्री बन्नेछन् ।

५ बाट भने पदाधिकारी तहकै नेता आकांक्षी छन् । उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी समिति सदस्य छविलाल विश्वकर्मा आकांक्षी छन् ।

त्यस्तै, ६ बाट धनबहादुर बुढा, नवराज रावत, ७ बाट प्रेम आले, गणेशसिंह ठगुन्ना र नारदमुनी राना थारू मन्त्री बन्ने दौडमा छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजुलाई हराएका कारण राना चर्चामा रहे पनि यसअघि रातो पासपोर्ट दुरुपयोगमा मुछिएका कारण उनलाई बनाउन नहुने भन्दै प्रदेशकै अन्य नेताहरूले लबिङ गरिरहेका छन्, नयाँ पत्रिकामा खबर छ  ।