ट्राफिक नियम उल्लंघन गर्नेबाट काठमाडौंमा दैनिक १० लाख रुपैयाँ जरिवाना संकलन

515

काठमाडौं – ट्राफिक नियम उल्लंघन गर्नेबाट काठमाडाै‌ं उपत्यकामा दैनिक १० लाखको हाराहारीमा जरिवाना उठ्ने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार एकै दिन १३ लाख २८ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको छ । जरिवाना तिर्नेमध्ये धेरैजसो सडक लेन अनुशासनको कारबाहीमा पर्ने गरेका छन् ।

त्यसपछि जथाभावी गाडी रोकेर यात्रु चढाउने र ओरोल्ने कारबाहीमा  पर्ने गरेको महाशाखाले जनाएको छ । आइतबार जथाभावी  यात्रु चढाउने र ओराल्ने ३ सय ६९ चालक कारबाहीमा परेका छन् भने सडक लेन अनुशासन पालना नगर्ने ३ सय ३२ जना कारबाहीमा परेका छन् ।

जाँडरक्सी खाएर गाडी चलाउने भने घट्दै गएको महाशाखाले जनाएको छ । सचेतना कक्षा र कारबाही अभियानका कारण जाँड रक्सी खाएर गाडी चलाउने घटेको महाशाखाको दबी छ । ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्मको जरिवाना तिराउने गरिएको छ ।