भक्तपुर । मानवीय सहायताको पर्याय नेपाल रेडक्रस सोसाइटीले शिक्षाको क्षेत्रलाई पनि आफ्नो कार्य क्षेत्र बनाएको छ । रेडक्रसको मुख्यतः कार्य क्षेत्र विपद्को समयमा खोज तथा उद्धारसँगै राहत, प्राथमिक उपचार सेवा पु¥याउनु हो । तर पछिल्लो समय विपद्विरुद्ध जुझन् समुदाय पहिले सक्षम हुनुपर्ने निष्कर्ष सहित रेडक्रसले समुदायमा आधारित विपद् प्रतिकार्यको कार्य गर्दै आएको हो ।
समुदायमा पनि विद्यार्थीहरुलाई समेत विपद्सँग लड्न सक्षम बनाउने उद्देश्यले विद्यालयमा आधारित विपद् प्रतिकार्यका कार्यक्रमलाई रेडक्रसले अघि बढाइरहेको छ ।
विपद् प्रतिकार्यमा विद्यार्थी सक्षम भएपछि उनीहरुले आफ्नो घरपरिवार र समुदायलाई समेत सचेत गर्ने भएकाले विद्यालयमा आधारित विपद् प्रतिकार्यका कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले बताए ।
उनका अनुसार भक्तपुर रेडक्रसले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रममार्फत जिल्लाका विद्यालयहरुमा विपद् प्रतिकार्यका कार्यक्रम अघि बढाइरहेको छ । विद्यालयमा आधारित कार्यक्रममा विद्यार्थीहरुलाई आआफ्नो विद्यालयसँगै घर तथा समुदायको सुरक्षा योजना निर्माण गर्न सिकाउँदै आएको उनले वताए ।
‘विद्यार्थीहरुले घर तथा समुदायपछि विद्यालयमा बढी समय बिताउँछन्’ ‘त्यसैले विद्यार्थीहरुलाई घर तथा समुदाय र विद्यालयमा विपद्को समयमा हुनसक्ने बहुजोखिम न्यूनीकरण गर्ने सीप तथा ज्ञान तालिममार्फत प्रदान गर्दै आएका छौं ।’ सभापती थापाले थपे ।
तालिममा विद्यार्थीहरुलाई विपद्मा हुनसक्ने जोखिमबारे पहिल्यै पहिचान गर्ने विधिसँगै विपद् एवं जोखिम आइहाले सुरक्षित हुने तथा प्रभावितलाई सुरक्षित स्थानान्तरण कसरी गर्ने भन्ने योजना अहिल्यै तयार गर्न सिकाइने उनले बताए ।
उनले भक्तपुर र मध्यपुर थिमि नपाभित्रका ४० विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भइरहेको बताए ।
भक्तपुर रेडक्रसका कार्यक्रम अधिकृत दिनेश थापाले तालिममा विद्यार्थीहरुलाई विद्यालयको विपद् पूर्वतयारी योजना निर्माण गर्नसमेत सिकाइने जानकारी दिए ।
उनका अनुसार भक्तपुरका कार्यक्रम सञ्चालन भएका भक्तपुर र मध्यपुर थिमि नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा विद्यालय सुरक्षा योजना निर्माण कार्यशाला गर्दै आएको छ ।
विद्यालयका न्यूनतम आधारहरू निर्माण गरी सरल एवं सहज रूपमा शिक्षा आदानप्रदान गरी विद्यालयमा हुनसक्ने बहुजोखिमहरू न्यूनीकरण गर्ने उद्देश्यले भक्तपुर र मध्यपुर थिमि नपाका सामुदायिक विद्यालयमा उक्त कार्यशाला गर्दै आएको उनको भनाइ थियो ।
शिक्षक तथा विद्यार्थीहरु सहभागी भएका ती कार्यशालामा प्रकोप र विपद्, विपद् व्यवस्थापन चक्र, विद्यालयको विपद् पूर्वतयारी योजना र विद्यालय सुरक्षा योजनालगायतका विषयमा विस्तृत जानकारी दिइएको छ ।
त्यस्तै कार्यशालामा सहभागी शिक्षक तथा विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयको सुरक्षित स्थानान्तरण योजना र पूर्वतयारी योजनासमेत बनाउन लगाइएको कार्यक्रम अधिकृत थापा बताउँछन् ।
‘कार्यशालाबाट तयार गरिएको विद्यालयको सुरक्षित स्थानान्तरण योजना र विपद् पूर्वतयारी योेजनालाई विद्यालय व्यवस्थापन समितिमार्फत अन्तिम रूप दिँदै आएका छौं’, उनले भने ।
उनका अनुसार विद्यालय सुरक्षासम्बन्धी योजना निर्माण कार्यशाला मध्यपुर थिमि नपाका आदर्श मावि, बोडे मावि र एसओएस हर्मन माइनर तथा भक्तपुर नपाका आदर्श आजाद मावि बासु मावि र समाजसुधार माविमा सम्पन्न गरिएका छन् ।
भक्तपुरमा नगरपालिकास्तरको समुदायको विपद् उत्थानशील क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सेप्टेम्बर २०१६ देखि अगस्ट २०२१ सम्मको पाँचवर्षे उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम सञ्चालन भइरहेको हो । नेपाल रेडक्रस सोसाइटीमार्फत बृटिस रेडक्रस तथा डीएफआईडीको आर्थिक सहयोगमा भक्तपुरका भक्तपुर र मध्यपुर थिमि नपामा यो कार्यक्रम सञ्चालित रहेको छ ।







































