अध्यागमनमा डरलाग्दो सेटिङ, हङकङ उड्न लागेका पाँच भारतीय पक्राउ

209

काठमाडौं । अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

तीनजनालाई अध्यागमन पार गर्ने बित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमानभित्रैबाट पक्राउ गरिएको हो ।

प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन् । उनीहरुको गतिविधि शंकास्पद भएको प्रहरीले जनाएको छ ।

अध्यागमनका कर्मचारीले ती भारतीय कुनै अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपाल हुँदै हङकङ जान लागेको हुन सक्ने दावी गरेका छन् । केही प्रहरी, अध्यागमन र एयरलाइन्सका कर्मचारीले सेटिङ गरी भारतीय नागरिकलाई अध्यागमन पार गराएको सूचना पाउनेबित्तिकै कर्मचारीले विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दलाई जानकारी गराएका थिए । त्यसलगत्तै प्रहरी र अध्यागमनका कर्मचारीले ती भारतीयलाई पक्राउ गरेका थिए ।

प्रहरीको समन्वयमा उड्न लागेको नेपाल एयरलाइन्सको जहाज झण्डै एक घण्टा होल्ड गरिएको थियो । दुईजना नो अब्जेक्सन लेटर नभएका भारतीयलाई विमानबाट पक्राउ गरी बाहिर ल्याइएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट