‘समावेशी क्वाँटी जस्तै हुनुपर्छ, पीठो होइन’

248

भक्तपुर । वरिष्ठ पत्रकारहरुले समावेशी पहिचान र अस्तित्वसहित हुनुपर्नेमा जोड दिएका छन् । पत्रकारिताले पनि यसैलाई आत्मसात गर्दै समाचार उत्पादन, प्रशोधन तथा प्रशारण र प्रकाशनमा पनि समावेशीलाई व्यवहारमा ल्याउनुपर्ने उनीहरुको भनाइ थियोे ।

नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरको संयुक्त संयोजनमा भएको तीनदिने नेपाली पत्रकारितामा समावेशी विषयक अन्तरक्रियात्मक अभिमुखीकरणमा उनीहरुले समाचार उत्पादनमा समावेशी भए पनि प्रशोधन गर्ने डेस्कमा समावेशी नहुँदा प्रशारण तथा प्रकाशनमा समावेशीले ठाउँ नपाएको बताए ।

सूचना विभागद्वारा आयोजित कार्यक्रममा उनीहरुको जोड थियो, ‘समावेशी सबै क्षेत्रमा क्वाँटी जस्तै हुनुपर्छ ।

क्वाँटीमा सबै गेडागुडीको पहिचान र अस्तित्व सर्लक्कै देखिन्छ । त्यही क्वाँटीमा हुने गेडागुडीको पीठो बनाइयो भने त्यहाँ कुनैको पनि पहिचान र अस्तित्व देखापर्दैन ।’

उनीहरुले समावेशी सहभागितामात्रै नभई समग्रता भएकोसमेत स्पष्ट पारे ।

‘एक महिला राष्ट्रपति हुँदैमा उनले सबै महिलाको समावेशीता पूरा गर्न सक्दैन’, उनीहरुले थपे, ‘त्यस्तै आदिवासी जनजाति, मधेसी तथा पिछडिएका क्षेत्रको एक व्यक्ति मन्त्री हुँदैमा त्यसले समावेशीतालाई पूरा गर्दैन ।’

कार्यक्रमका सहभागीहरुलाई आइतबार प्रमाणपत्र वितरण गर्दै सूचना विभागका महानिर्देशक वीरबहादुर राईले संविधानले नै समानुपातिक समावेशीता सुनिश्चित गरिसकेकाले विभागले पनि त्यहीं अनुसार कार्य गर्दै आएको सुनाए ।

उनले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउन विभागले पहल गर्ने बताए ।

त्यस्तै प्रमुख सहजकर्ता डा. सुरेश आचार्यले समावेशी एउटा आन्दोलन भएर आएकाले त्यसलाई सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने धारणा राखे ।

नेपालमा २०६२÷६३ पछि समावेशी बढी मुखरित भएर आएको उनको भनाइ थियो ।

कार्यक्रममा सञ्चार विज्ञहरु डा. विजय मिश्र, डा. राजेश अहिराज, खिम घले र मीरा राजभण्डारीले नेपाली पत्रकारितालाई समावेशी बनाउन देखिएका समस्या र त्यसको निराकरणका उपायसँगै समावेशी पत्रकारिता के कसरी गर्नेबारे सहजीकरण गरेका थिए ।
स्थानीय संयोजनकर्ता नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष ईश्वरकाजी खाइजूले समावेशीका विषयमा धेरै चर्चा भए पनि सञ्चार क्षेत्रमा यसले प्रवेश नपाएको सन्दर्भमा भक्तपुरमा उक्त कार्यक्रम गरिएको जानकारी दिए ।

उनले सञ्चारमाध्यम समावेशी भए त्यसको असर अन्य क्षेत्रमा पनि पर्दै जाने भएकाले पहिले सञ्चारकर्मीहरुलाई समावेशीबारे सचेत गरिएको सुनाए ।