एभरेस्ट जन्मदिन कोषबाट नुवाकोट र हुम्लाका विद्यालयलाई पुस्तक उपहार

473

‘एकदर्जन विद्यालयमा एभरेस्टको सहयोगमा पुस्तकालय’
भक्तपुर।
एभरेस्ट इंगलिस स्कुल मिवाछेंमा पढ्ने विद्यार्थी, कार्यरत शिक्षक तथा कर्मचारीको जन्मदिनको अवसरमा स्वेच्छिक रुपमा संकलित ‘एभरेस्ट जन्मदिन कोष’ बाट यो वर्ष हुम्ला र नुवाकोटका दुई सामुदायीक प्राथमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि ३ लाख ९३ हजार ३ सय ७२ रुपैयाँ बराबरको किताव उपहार दिइएको छ ।


कोषमा हरेक विद्यार्थीले आफ्नो जन्मदिनका अवसरमा न्यूनतम २०० तथा शिक्षक कर्मचारीले वार्षिक १ हजार रुपैयाँ जम्मा गर्दै आएका छन् । चकलेट र केक बाँड्ने चलन बन्द गर्दै जन्मदिनको अवसरमा केही रुपैया बचत गरी मुलुकका दुर्गम भेगका सामुदायीक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई पुस्तकालयमार्फत शैक्षिक विकासमा सहयोग गर्नु एभरेस्ट जन्मदिन कोषको उद्धेश्य हो ।
एभरेस्ट जन्मदिन कोषबाट यो वर्ष पुस्तकालय स्थापनाका लागि श्री सुन्दरादेवी प्राथमिक विद्यालय थाप्रेक ६ कुलकुले, नुवाकोटलाई २ लाख ५ हजार २३६ रुपैयाँ बराबरको १ हजार २ सय ६६ थान तथा तातोपानी प्राथमिक विद्यालय, केर्मी, हुम्लालाई १ लाख ८८ हजार १ सय ३६ रुपैयाँ बराबरको १ हजार २ सय ६६ थान पुस्तक उपहार दिइएको हो ।


विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा विहीबार विद्यालयमा आयोजित एक विशेष समारोहमा ती किताव हस्तान्तरण गरिएको थियो । श्री सुन्दरादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार श्रेष्ठ तथा तातोपानी प्राथमिक विद्यालयलाई सहयोग गर्दै आएको हिमालयन चिल्ड्रेन सोसाइटीका अध्यक्ष कुमार लामालाई ती पुस्तक हस्तान्तरण गरिएको हो ।
एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल एवम् एभरेस्ट जन्मदिन कोषका संस्थापक भक्त राजभण्डारी, भाइस प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारी, जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यका साथै जन्मदिन कोषका पदाधिकारी र सदस्यहरुले ती पुस्तक दुई विद्यालयका प्रधानाध्यापक एवम् व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।


त्यस अवसरमा बासु माविका पुर्व प्रधानाध्यापक बालमुकुन्द बासुकला तथा विश्वराम कवाँ, भक्तपुर नगरपालिका २ नं वडाका अध्यक्ष हरिप्रसाद बासुकलाको पनि सहभागिता थियो ।
२०६६ सालमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोषबाट हालसम्म १० वटा विद्यालयमा पुस्तकालय स्थापनाको लागि किताव उपहार दिइसकिएको छ । २०६६ सालमा सो कोषबाट भक्तपुर जिल्ला अस्पताललाई ८८ थान न्यानो कम्वल उपहार दिएर शुरुवात गरिएकोमा २०६७ मा ओखलढुंगा जिल्लाको हिलेपानीस्थित श्री महादेवस्थान माविलाई ८१ हजार ३१३ रुपैयाँ बराबारको किताव, २०६८ सालमा संखुवासभा जिल्लाको चैनपुरस्थित श्री सरस्वती माविलाई ९५ हजार रुपैयाँ बराबरको किताव उपहार दिइएको थियो ।
यसैगरि २०६९ सालमा निष्ठा म्युजिकको तर्फबाट ५० हजारसमेत गरि रामेछाप जिल्लाको गोठपानीस्थित श्री चण्डेश्वरी उमाविलाई २ लाख २५ हजार रुपैयाँ बराबरको किताव, २०७० सालमा खोटाङ्ग जिल्लाको सल्लेस्थित श्री जनता माविलाई १ लाख ६७ हजार ३९३ बराबरको किताव, २०७१ सालमा कालिकोट जिल्लाको फोइकोटस्थित श्री महादेव उमाविलाई १ लाख ९० हजार १९४ रुपैयाबराबरको किताव उपहार दिइएको थियो ।
२०७२ सालमा विद्यालयको जन्मदिन कोषबाट अछाम जिल्लाको टोटकेसाल कालिकास्थानको श्री महेन्द्र माविलाई १ लाख ८० हजार रुपैयाँबराबरको १ हजार ५४३ थान किताव उपहार दिइएको थियो ।


२०७३ सालमा एभरेस्ट जन्मदिन कोषको १ लाख ११ हजार १११ सहित विद्यालय तथा कर्मचारी र अन्य शुभचिन्तकबाट प्राप्त ३ लाख ३३ हजार रुपैयाँ अन्वेशक महावीर पुनको आविश्कार केन्द्रको लागि सहयोग गरिएको थियो ।
यसैगरि सो कोषबाट २०७३ सालमै कास्की जिल्लाको सिक्लेसस्थानस्थित श्री अन्नपूर्ण माविका लागि एकलाख ६५ हजार ६२९ रुपैयाँ बराबरको १ हजार ५०१ थान किताव र दैलेख जिल्लाको तोलिजैसीस्थानस्थित श्री मालिका माविलाई एक लाख ६३ हजार ९१७ मुल्य बराबरको १ हजार ५०१ थान किताव उपहार दिइएको थियोे ।
विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा शतप्रतिशत हाजीर भएका र उत्कृष्ट विद्यार्थीद्धय समिर थापा र अनुस्का सिंह कार्कीलाई पुरस्कृत गरिएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न वक्ताहरुले एभरेस्ट इंगलिस स्कुलमा स्थापना गरिएको एभरेस्ट जन्मदिन कोषको प्रशंसा गरेका थिए ।