दुईघण्टे कार्यक्रमलाई क्षयरोग केन्द्रको साँढे १५ लाख

420

अतिथिलाई खादा, माला र ब्याचको लागि २८ हजार

काठमाडौं ।
सरकारी कार्यालयको खर्च व्यवस्थापनमा धेरै चुनौति र वेतिथि देखिएको भन्दै अर्थ मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘अनावश्यक विषयमा खर्च नगर्नु’ भनेर निर्देशन दिएको भोलिपल्ट राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले १० चैतमा आयोजना गरिने दुईघण्टे कार्यक्रमको लागि भन्दै साँढे १५ लाख रकम छुट्याएको तथ्य सार्वजनिक भएकोछ ।

अतिरिक्त खर्चको भार कम गर्न कार्यालयबाहेक पैसा तिरेर होटेलमा या अन्यत्रका सभाहलमा कार्यक्रम नगर्न मन्त्रालयको निर्देशन आएको भोलिपल्ट केन्द्रले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै विश्व क्षयरोग दिवस मनाउन भन्दै १५ लाख ५८ हजार छुट्याएको हो ।

‘क्षयरोगमुक्त विश्वको लागि नेताको आवश्यकता’ नाराका साथ मनाउन लागिएको एकदिने सो दिवसका लागि अनावश्यकरुपमा त्यत्रो रकम छुट्टयाइएको हो । गतवर्ष केन्द्रकै सभाहल ठिमीमा ३ लाख रुपैया खर्चेर क्षयरोग दिवस मनाएको थियो ।

केन्द्रले १० चैतमा २ घण्टाको कार्यक्रमको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल बुकिंग वापत भ्याट सहित २ लाख १४ हजार, खाजावापत २ लाख ७५ हजार, व्यानर/नारा/झण्डा तथा ब्रोसर बनाउन २ लाख, नारा लेखिएको भेष्ट (गञ्जी) बनाउन २ लाख ५० हजार र पत्रकारहरुलाई भत्ता वितरण गर्न ७५ हजार रुपैयाँ छुट्याएको छ ।

यसैगरि कार्यक्रमको कार्ड वितरण गर्ने कर्मचारीलाई खाजावापत ५० हजार, कार्यक्रम व्यवस्थापनमा खटिने कर्मचारीलाई अर्काे ५० हजार, वार्षिक प्रतिवेदन छपाउन १ लाख ५० हजार र २ घण्टे कार्यक्रमको भित्ते फ्लेक्स (ब्याक ड्रब) बनाउन ६० हजार र पत्रपत्रिकाका लागि १ लाख ५० हजार छुट्याएको छ ।

त्यतिमात्रै नभई कार्यक्रममा आउने अतिथिका लागि खादा, माला र बुकीको लागि २५ हजार मात्रै नभई उनीहरुले लगाउने ब्याचका लागि ३ हजार रुपैयाँ छुट्टाएको छ ।

यही २० चैतमा सेवानिवृत्त हुँदै गरेका केन्द्रका निर्देशक डा.केदार नरसिंह केसीको निर्देशनमा लेखा अधिकृत नारायण प्रसाद दाहाल, तथ्यांक अधिकृत अनिल थापा र शाखा अधिकृत रिता खतिवडाको मिलोमतोमा एकदिनका लागि १५ लाख ५८ हजार रुपैया छुट्टयाइएको हो ।

सेवा निवृत्त हुने दिन नजिकिँदै जाँदा निर्देशक डा.केसीले २ घण्टे कार्यक्रमको लागि १५ लाख ५८ हजार रुपैयाँ बजेट छुट्टयाएपनि त्यसको आधा रकम मात्रै खर्च गर्न र आधार रकम बचाउन निर्देशन दिएको केन्द्रका कर्मचारी बताउँछन ।

बचाएको आधा रकम ती चारजना अधिकारीले वाँडचुँड गर्ने आन्तरिक सहमति भएको पनि ति कर्मचारीले बताए ।

केन्द्रले १० चैतको लागि विभिन्न १७ वटा शिर्षकमा गरि देखावटी रुपमा १५ लाख ५८ हजार छुट्टयाएको हो ।

त्यो रकम नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र सेभ द चिल्ड्रेनले खर्च गर्ने बताइएको छ ।