भक्तपुर । यही चैत्र ८ गते बिहान ८ बजेबाट सञ्चालन हुने शैक्षिक सत्र २०७४ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) मा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुने भएका छन् ।
परीक्षाको अन्तिम तयारीको क्रममा राष्ट्रिय परीक्षा बोर्डले गरेको पत्रकार सम्मेलनमा सोको जानकारी दिइएको हो । बोर्डका अनुसार उक्त परीक्षाका लागि १ हजार ९ सय ५६ केन्द्र निर्धारण गरिएको छ ।
उक्त केन्द्रहरुमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २०, हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित हुने बोर्डले जनाएको छ ।
चैत ८ गतेदेखि (साधारण धारतर्फको १७ गतेसम्म र प्राविधिक धारतर्फको २० गतेसम्म) सञ्चालन हुने उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी प्रदेश नं. ३ बाट र कम प्रदेश नं. ६ बाट हुने भएका छन् । बोर्डका अनुसार प्रदेश नं. ३ बाट १ लाख ८३ हजार २२ जना र प्रदेश नं. ३ बाट ३८ हजार ५ सय ९२ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
त्यस्तै प्रदेश नं. १बाट ८४ हजार २ सय ९०, प्रदेश नं. २ बाट ७० हजार ४ सय २, प्रदेश नं. ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश नं. ५ बाट ७९ हजार २ सय ५१ र प्रदेश नं. ७ बाट ५५ हजार ७ सय ७५ परीक्षार्थी सहभागी हुँदैछन् ।
जसमध्ये परीक्षामा नियमिततर्फ छात्रमा २ लाख २७ हजार २ सय ४ र छात्रामा २ लाख २३ हजार ३ सय ११ एक्जेम्टडतर्फ छात्रमा ९ हजार २ स ४७ र छात्रामा १४ हजार ८ सय २४ रहेका छन् ।
यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिँदैछ । यसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था रहेको छ । यस्तो प्रयोगात्मक परीक्षाको व्यवस्थापन सम्बन्धित विद्यालय र विषय शिक्षकबाटै नै हुनेछ ।
परीक्षाका लागि सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरु तथा शिक्षा मन्त्रालयमार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको अनुगमन टोलीले परीक्षा सञ्चालन अवधिमा परीक्षालाई मर्या्दित, अनुशासित र व्यवस्थित गर्ने र अमर्या्दित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने गरी अनुगमन(निरीक्षणको व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।