काठमाडौं ।
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत हप्ताको सोमबार दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइतेमध्ये सफल उपचारपछि दुईजना ग्राण्डी अस्पताल धापासीबाट घर फर्केका छन् । उनीहरुको सम्पूर्ण उपचार खर्च युएस बांगला एयरलाइन्सले तिरेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा.चक्रराज पाण्डेले उपचारपछि भई घर फर्किन लागेका काठमाडौं कपनका दयाराम ताम्राकार र भक्तपुर बालकोटका किशोर त्रिपाठीलाई आइतबार खादा र पुष्पगुच्छा दिएर विदाई गरेका थिए ।
उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना भएकामध्ये काठमाडौं बनस्थलीका हरिप्रसाद सुवेदी र किर्तिपुरका बिनोदराज पौडेल भने उपचाररत रहेको अस्पतालले जनाएको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सो विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए ।
घाइतेमध्ये कपनका ताम्राकार, बालकोटका त्रिपाठी र किर्तिपुरका बिनोदराज पौडेललाई ग्राण्डी अस्पतालको आकस्मिक सहयोगी टिमले विमानस्थलबाट र विभिन्न अस्पतालबाट रिफर भई थप उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको थियो ।