भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाललाई आर्थिक समृद्धिमा लाने सरकारको अभिव्यक्ति सुगा रटाईमात्रै भएको आरोप लगाएका छन् । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले भने, ‘आर्थिक समृद्धि सरकारको सुगा रटाईमात्रै हो’, नेता बिजुक्छेले भने, ‘गरिबी हटेर सबैले रोजगारी नपाएसम्म आर्थिक समृद्धि प्राप्त हुँदैन । विदेशमा जताततै आर्थिक समृद्धि भनिएकाले हामीकहाँ पनि आर्थिक समृद्धिको सुगा रटाई गरिएको हो यो केवल हात्तीको देखाउने दाँत जस्तै हो ।’
उनले नेपालमा संघीयता बाँदरको हातमा नरिवल भएको टिप्पणी गरेका छन् ।
संघीयता कार्यान्वयनकै क्रममा धेरै ठाउँमा अलमल देखिएको भन्दै उनले संघीयताकै कारण मुलुकमा ठूलो दुर्घटना हुनसक्ने ठोकुवा गरे ।
अध्यक्ष बिजुक्छेले भने, ‘संघीयता बाँदरको हातमा नरिवल भएको छ । जताततै अलमल छ । यसले धेरै समस्या आउने देख्छु ।’
संघीयतामा जानुअघि जनतालाई व्यापक रुपमा सचेत गर्नुपर्नेमा नेमकिपाले जोड गर्दा सरकारमा जाने दलहरुले नेमकिपालाई संघीयताविरोधी बताएको उनको भनाइ थियो ।
‘हामीले एकैबाजी संघीयतामा जानुहुन्न भनी धेरै आलोचना ग¥यौं’, अध्यक्ष बिजुक्छेले भने, ‘तर सरकारमा जाने ठूला दलहरुले सुनेनन् ।’
उनले प्रदेशमा चुनिएका जनप्रतिनिधिहरु गाडी चलाउन नजानेका चालकलाई साँचो दिएजस्तै भएको टिप्पणी गरे ।
‘प्रदेशका जनप्रतिनिधिहरु गाडी चलाउन नजानेका चालक भएका छन्’, अध्यक्ष बिजुक्छेले भने, ‘गाडीको साँचो थमाइएको छ तर गाडी हाँक्न आउँदैन । गाडी चलाउन नजान्ने चालकबाट दुर्घटना हुनु निश्चित छ ।’
उनले संसदमा पुग्ने जति ठूलो दल र जति ठूलो नेता त्यति नै ठूलो भ्रष्टाचारी रहेको आरोप लगाए ।
‘उद्योगी व्यवसायीहरुसँग लाखौं रुपैयाँ चन्दा लिएर चुनाव जितेपछि अहिले कालोधनलाई सेतो बनाउने भन्न थालेका छन्’, नेता बिजुक्छेले भने, ‘पुँजीवादी व्यवस्थामा सरकार धनीमानी तथा पुँजीपतिहरुको सञ्चालक समिति हो ।’
कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिलगायतले उद्योग व्यवसायमा इमानदारिता अत्यावश्यक भएको धारणा राखे ।
उनीहरुले भक्तपुरमा विद्युतीय सामग्री खरिद गरिँदा कुनै धोखा र ठगी हुन्न भन्ने विश्वास जगाउनुपर्नेमा जोड दिए ।
अधिवेशनले पुण्यराम खाताखोको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत गरेको छ । जसमा उपाध्यक्षत्रयमा गंगाराम मानन्धर, माधवप्रसाद प्रजापति र रामगोपाल सुवाल, महासचिवमा रुकेश रञ्जित, सचिवमा चन्द्रभक्त श्रेष्ठ, कोषाध्यक्षमा रामप्रसाद खर्बुजा र सहकोषाध्यक्षमा अल्बर्ट बज्राचार्य रहेका छन् ।
त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद कोजू, श्यामसुन्दर नगरकोटी, श्याम दुवाल, शिवराम वैद्य र बुद्धिकुमार मुस्याख्व रहेका छन् ।
संघमा भक्तपुरका करिब दुई विद्युतीय सामग्री व्यवसायी आवद्ध रहेका छन् ।