बलराम प्यासी
काठमाडौं ।
विगत तीनवर्षदेखि राष्ट्रिय क्षयरोग केन्द्र थिमिमा भइरहेको आर्थिक अनियमितता र भ्रष्टाचारको छानवीन गर्न त्यहाँका आधाभन्दा बढी कर्मचारीले प्रधानमन्त्रीलाई गुहारेका छन् । केन्द्रमा चिकितसक, स्वास्थ्यकर्मी, विशेषज्ञ, नर्सिंग र प्रशासनिक गरि ४८ जना कर्मचारी कार्यरत छन् ।
प्रधानमन्त्री केपी ओलीलाई ७ चैतमा बुझाएको निवेदनमा ति कर्मचारीले केन्द्रको खरीद प्रकृया अपारदर्शी भएको, केन्द्रका लागि आवश्यकभन्दा बढी सामान खरिद गर्दा करोडौं रुपैयाँ आर्थिक अनियमितता भएको निवेदनमा उल्लेख छ ।
मुलुकभरका क्षयरोगीको सरल र सहजरुपमा निदान तथा निःशुल्क उपचार गर्नुपर्ने केन्द्र पछिल्लो ३ वर्षमा भष्ट्राचार र आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको गुनासो कर्मचारीले गरेका छन् ।
निवेदनमा कर्मचारीले केन्द्रका तत्कालिन निर्देशक डा.विकास लामिछाने र वर्तमान निर्देशक डा.केदारनरसिंह केसीका साथै तथ्यांक उपसचिव एवम् खरीद तथा अनुगमन निर्देशक अनिल थापा, लेखा उपसचिव नारायणप्रसाद दाहाल, प्रशासन शाखाकी शाखा अधिकृत रिता खतिवडा, नर्वेजियन छातीरोग संस्था (एलएचएल) का कार्यक्रम संयोजक गोकुल मिश्र तथा नर्सिंग शाखाका केही भ्रष्ट कर्मचारीको मिलोमतोमा केन्द्रको करोडौं रुपैया भ्रष्टाचार गरेको उल्लेख गरेका छन् । त्यसो त केन्द्रका तत्कालिन निर्देशक डा.लामिछाने अघिका निर्देशक डा.राजेन्द्रप्रसाद पन्तको कार्यकालदेखिको फाइल अध्ययन गर्न पनि कर्मचारीले प्रधानमन्त्रीसमक्ष माग गरेका छन ।
यसअघि केन्द्रको आर्थिक अनियमितता र भ्रष्टाचारको राष्ट्रिय सर्तकर्ता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरेतापनि त्यहाँ पनि आर्थिक लेनदेनको शंका देखिएकोले केन्द्रको खरीद फाइललगायत आर्थिक र प्रशासनतर्फको सम्पूर्ण फाइलको स्वतन्त्र छानवीनको लागि निवेदन दिइएको कुरा उल्लेख गरिएको छ ।
त्यतिमात्रै नभई केन्द्रका भ्रष्ट कर्मचारीलाई जोगाउन मुलुकका केही राष्ट्रियस्तरका सञ्चारमाध्यमका पत्रकारहरु पनि लागिपरेको प्रधानमन्त्रीलाई दिइएको निवेदनमा उल्लेख गरिएको छ ।
कुनै समय नेपाल सरकारको पहिलो सफल र राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नाम कमाउन सफल नेपालको क्षयरोग नियन्त्रण कार्यक्रम तीन वर्षको अवधिमा निरन्तर ओरालो लागेर शुन्यमा झरेकोले केन्द्रका इमान्दार कर्मचारीहरु दुःखी भएको प्रधानमन्त्रीलाई दिइएको निवेदनमा उल्लेख गरिएको छ ।
केन्द्रका तत्कालिन निर्देशक डा.लामिछानेलाई भ्रष्टाचारको आरोपमा केन्द्रबाट अन्यत्र सरुवा गरेतापनि पछिल्लो समय नेपाली कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका गगन थापाले आफ्ना साहिँला ससुरा नाता पर्ने डा. केदार नरसिंह केसीलाई केन्द्रको निर्देशक बनाएका थिए । यही २० चैतमा सेवा निवृत्त हुन लागेका केसी निर्देशक बनेपछि भ्रष्टाचार नियन्त्रण हुने आशमा रहेका कर्मचारीहरु केसीले गरेको आर्थिक अनियमिततापछि झनै हतोत्साही बनेका थिए ।
केन्द्रमा रहेका तीनवटा सुविधा सम्पन्न सभाहल हुँदाहुदै भ्रष्टाचार गर्दै धुलिखेलका महंगा तारे होटेलहरुमा केन्द्रको ५० भन्दा बढी तालीम र गोष्ठीहरु सञ्चालन गरिएको, केन्द्रको लागि भन्दै आवश्यकभन्दा बढी सामग्री र उपकरण परल मुल्यभन्दा ५ गुना बढी महंगो मुल्यमा खरीद गरिएको जस्ता कुरा कर्मचारीले निवेदनमा उल्लेख गरेका छन् ।