भक्तपुरः सोमबार मेघ गर्जनसहित वर्षा हुँदा चट्याङ लागेर भक्तपुरमा एकजनाको मृत्यु भएको । घटनामा अर्का एकजना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चट्याङ लागेर जिल्लाको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित शंकर इँटा उद्योगमा काम गर्ने सिन्धुली हरिहरपुर गढी गाउँपालिका–५ घर भएका १९ वर्षीय सुरेन्द्र बल तामाङको मृत्यु भएको हो ।
इँटाभट्टामा रहेको झ्याउलीभित्र बसिरहेका तामाङ चट्याङ लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएपछि मृत्यु भएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार चट्याङ लागेर सोमबार नै सोही इँटाभट्टामा काम गर्ने अर्को मजदुर घाइते भएका छन् ।
उनले मकवानपुर ठोटरी ८ घर भएकी १६ वर्षीया सञ्चली योञ्जन घाइते भएको जानकारी दिए । घाइते योञ्जन भक्तपुर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको उनले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







































