बलराम प्यासी
काठमाडौं ।
२०७२ बैशाख १२ को महाभूकम्पपछि नेपालमा तत्काल आवश्यक महसुस गरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागबाट शुरु गरिएको ‘आकस्मिक तथा प्रकोप’ का घाइतेको उपचार व्यवस्थापनको चर्चा नेपालका विभिन्न जिल्लामा मात्रै नभई सिंगापुरसम्म पुगेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र सिंगापुरको सरकारी अस्पताल (सिंगापुर जनरल हस्पिटल) बीच ती दुवै अस्पतालमा आकस्मिक तथा प्रकोप सम्वन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्ने विषयमा दुईपक्षिय छलफल र वार्ता सम्पन्न भएको छ ।
त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका उपप्रमुख सह—प्राध्यापक डा.रमेश कुमार महर्जनको नेतृत्वमा रहेको नेपाली आकस्मिक तथा प्रकोप व्यवस्थापक टोलीले सिंगापुर जनरल अस्पतालका इमर्जेन्सी फिजिसियन प्रा.डा.मार्क लियोंग, जनरल अस्पतालको क्याम्पस प्रमुख प्रा.लिम तथा इमर्जेसी मेडिसिन विभागका वरिष्ठ नर्सिंग व्यवस्थापक चेओंग पेंगबीच छलफल र द्धिपक्षिय वार्ता भएको हो ।
नेपाली टोलीमा त्रिविवि शिक्षण अस्पतालकोे नर्सिंग निर्देशक कोपिला श्रेष्ठ पालिखेल, इमर्जेन्सी विभागकी नर्सिंग प्रमुख तथा नर्सिंग सह—नियन्त्रक धर्मलक्ष्मी श्रेष्ठ, इमर्जेन्सी विभागकी नर्सिंग सुपरभाइजर मनकुमारी घले गुरुंग र सोही विभागकी नर्स अमिता थापा सहभागी थिए भने नेपाल एशोसियसन अफ एमर्जेन्सी एण्ड डिजास्टर मेनेजमेण्ट (नादेम) की रीना थापा महर्जनले समन्वयकारीको भूमिका निभाएकी थिइन ।
जुनसुकै बेला, जहाँपनि आकस्मिक तथा प्रकोपका घटना हुनसक्ने भएकोले त्यसको तत्काल व्यवस्थापन गर्दै समयमै घाइतेहरुको उपचारको लागि आगामी दिनमा त्रिविवि शिक्षण अस्पताल र सिंगापुर जनरल अस्पतालमा इमर्जेन्सी फिजिसियनको साथै इमर्जेन्सी नर्सिंग सेवा विस्तार गर्ने विषयमा छलफल भएको छ ।
साथै यसका लागि आवश्यक पर्ने प्रँविधिक तथा विशेषज्ञ स्वास्थ्य जनशक्ति उत्पादन गर्दै दुवै देशका अस्पतालमा त्यस्तो सेवा विस्तार गर्ने र आवश्यक पर्ने विविध तालीम तथा प्राविधिक शीप, ज्ञान आदान प्रदान गरिने विषयमा द्धिपक्षीय छलफल भएको हो ।
नेपालको इर्मजेन्सी फिजिसियन चिकित्सक तथा नर्सिंग टोलीले सिंगापुर जनरल अस्पतालमा आकस्मिक तथा प्रकोपका घाइतेको उपचारको लागि गरिएको तयारी अवस्थाका बारेमा जानकारी लिएको सहभगाी सहप्राध्यापक डा.महर्जनले बताए । नेपालमा पनि २०७२ को महाभूकम्पमा परि घाइते भएकाहरुको उपचार व्यवस्थापनबारे विविध प्रस्तुति देखाइएको थियो । यी दुई अस्पतालवीच केही दिनमौ द्धिपक्षिय सम्झौता हुने जनाइएको छ ।