चैत २४ मा निःशुल्क क्यान्सर शिवीर हुने
काठमाडौं । बेबिलोन नेसनल स्कुल शान्तिनगरको २३ औं वार्षिकोत्सव मनाउने सन्दर्भमा शनिबार विद्यालय परिसरमा वृहत निःशुल्क आँखा शिवीर आयोजना गरियो ।
विद्यालयले अर्काे शनिबार अर्थात चैत २४ गते नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेलका विशेषहरुबाट विद्यालय हातामा निःशुल्क क्यान्सर शिवीर आयोजना गर्दैछ ।
शनिबार ‘जीवनको सार आँखाको वहार’ भन्ने नाराका साथ आयोजित शिविरमा नेपाल आँखा अस्पतालका वरिष्ठ आँखा विशेषज्ञ डा.अरुणप्रसाद ढुंगानासहितको नेतृत्वमा रहेको आँखा विशेषज्ञ टोलीले निःशुल्क आँखा जाँच गरि औषधि वितरण गरेको थियो ।
शिविरमा विद्यार्थी, शिक्षक, अभिभावकको साथै स्थानीय गरी करीव पाँचसय जनाको आँखा परीक्षण गरिएकोमा ६ जनालाई मोतियाविन्दु, पाँच जनालाई जलविन्दु र अन्यलाई साधारण आँखाका समस्या पाइएको थियो ।
प्रिन्सिपल राजु राईका अनुसार वार्षिकोत्सवका अवसरमा स्कुलले आँखा शिविर तथा रक्तदान कार्यक्रम गरेको छ । उत्कृष्ट शिक्षण सिकाइका साथै सामाजिक उत्तरदायित्वका रूपमा स्कुलले बेलाबेलामा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गत हप्तामात्रै आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय गरि ७६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा विद्यालयकै स्काउट विद्यार्थीले स्वयंसेवकका रूपमा काम गरेका थिए । शिक्षक–अभिभावक संघकी सदस्य मञ्जु बम्जन (तामाङ) ले सो कार्यक्रमको प्रायोजन गरेकी थिइन भने विद्यालयका शिक्षक–शिक्षिका तथा स्काउट विद्यार्थीले स्वयमसेवा र सहयोग गरेका थिए ।
शिवीर सञ्चालनका लागि स्थानीय जागरुक महिला समुह, समावेशी नारी विकास मञ्च, मानव कल्याण वचत तथा ऋण सहकारी संस्था, काठमाण्डौ महानगरपालिका ३१ न्ां वडा कार्यालय र लायन्स क्लव जागृतिको सहयोग रहेको थियो ।
विद्यालयले आगामी चैत २४ गते शनिबार विद्यालय परिसरमै नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जाउलाखेलसंगको सहकार्यमा वृहत निःशुल्क क्यान्सर परिक्षण शिवीर आयोजना गर्दैछ । त्यसका लागि विद्यालयले स्थानीय शान्तिनगर लगायत सबै क्षेत्रका महिलालाई निःशुल्क क्यान्सर परिक्षणको लागि आहवान गरेको विद्यालयको आइएसए कोअर्डिनेटर अनिता सिग्देलले बताइन ।
पछिल्लो समयमा ४० वर्ष उमेर कटेका र महिनावारी रोकिएका महिलाहरुमा पाठेघरको क्यान्सर बढीमात्रामा देखिन थालेपछि विद्यालयले स्थानीय महिलाहरुको स्वास्थ्यप्रति संवेदनशील भइ निःशुल्क क्यान्सर जाँच शिवीर आयोजना गर्न लागेको विद्यालयको अभिभावक संयोजक कमला केसीले बताएकी छिन् ।