शिक्षामन्त्रीद्वारा मन्त्री र दलका नेतासंग छलफल

261

 

काठमाडौ ।

शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघिय सरकारका ४ मन्त्री तथा सचिवहरुसंग शिक्षा मन्त्रालयमा छलफल गरेका छन ।

आइतबार सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीसंगको बैठकपछि मन्त्री पोखरेलले संघिय सरकारका मन्त्रीसंग छलफल गरेका हुन ।

मन्त्री पोखरेलले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्रप्रसाद अधिकारी, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङसंग शिक्षाका विविध पक्षबारे छलफल गरेका थिए ।

यसैगरि मन्त्री पोखरेलले शैक्षिक सत्र २०७५ मा गरिने नयाँ विद्यार्थी भर्ना र पाठ्यपुस्तक बितरण अभियान सफल पार्न विभिन्न राजनैतिक दलका नेताहरुसंग पनि छलफल गरेका छन् ।

“हामी सबैको इच्छा, अनिवार्य निस्शुल्क आधारभुत शिक्षा“ भन्ने मुल नाराका साथ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री पोखरेलले शुरु गरेको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा सबै दलको साथ र सहयोग को निम्ति बैठकको आयोजना गरिएको हो ।

बैठकमा सहभागी संसदिय दलका नेता तथा विभिन्न राजनैतिक दलका नेताहरूले विद्यार्थी भर्ना अभियान सबैको साझा अभियान भएकोले सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

विशेष गरि शिक्षाको क्षेत्रमा एकदमै पछाडी परेको मधेसका जिल्लालाई लक्षित गरेर अभियान अघि बढाउन बैठकका सहभागीहरुले सुझाएका छन । विद्यालय आउन नसकेका केटाकेटीलाई बिद्यालय सम्म ल्याउन सबैखाले सहयोग गर्न आफुहरु तयार रहेको नेताहरूले बताए । विद्यार्थी भर्ना अभियानसंगै शिक्षाको गुणस्तर वृद्धिमा पनि ध्यान दिन नेताहरू ध्यानाकर्षण गराएका छन ।

बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेकपा एमालेका नेता एवम् कानुन, न्याय तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङ, नेपाली काग्रेसका नेता दिलेन्द्र बडु, राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झा, संघिय समाजवादी फोरमका नेता डा.शिवजी यादव, राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरि लगायतका नेताहरूको सहभागिता रहेको थियो ।