‘सुलभ स्वास्थ्य उपचारको सुविधा होस्’ :पुर्वराजा

320

 

बलराम प्यासी

काठमाडौं ।

पुर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारण जनताको लागि ‘सुलभ स्वास्थ्य उपचार’को सुविधा हुनुपर्ने कुरामा जोड दिएका छन् । पछिल्लो समयमा नेपालमा स्वास्थ्य र शिक्षा अत्यन्तै खर्चिलो हुन थालेपछि पुर्वराजाले ‘सुलभ स्वास्थ्य उपचार’को लागि जोड दिएका हुन ।

नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना सन्देश दिँदै पुर्वराजा शाहले वैज्ञानिक एवम् जीवन उपयोगी शिक्षाको व्यवस्था र हरेक नेपालीको लागि स्वदेशभित्रै रोजगारीको सुनिश्चितता होस् भन्ने कामना पनि गरेका छन् ।

सत्यको आवाज कहिल्यै कमजोर र सानो नहुँने अनि कहिल्यै पराजित पनि नहुने उल्लेख गर्दै पुर्व राजाले एउटा नेपाली देखेर अर्काे नेपाली तर्सिनुपर्ने परिस्थिति नवनोस् भन्ने आम नेपालीको चाहना रहेको पनि बताएका छन् ।

पछिल्लो समयमा प्रशासकहरु भ्रष्ट र उनीहरुको व्यवहार जनमुखी नभएको विषयलाई मध्यनजर गर्दै पुर्वराजा शाहले शासक, प्रशासकहरुको कार्य जनमुखी होस् भन्ने चाहना पनि व्यक्त गरेका छन् । देश बनाउन उपयोग गर्नुपर्ने नेपाली हातलाई देश बचाउन उपयोग गर्नुपर्ने वाध्यात्मक अवस्थामा नपुर्याइयोस्, उनले सन्देशमा भनेका छन् ।

हाम्रा मौलिक धर्म, संस्कृति र परम्पराविरुद्ध खडा गरिएका चुनौतिहरु अझै शिथिल भइनसकेको उल्लेख गर्दै पुर्वराजा शाहले स्वाभिमान र आत्मसम्मान सहितको सम्वृद्ध नेपालनै सबै नेपालीहरुको सपना हो भनेका छन् ।

‘विश्वका अधिकाँश मुलुकले समुन्नत जीवन बाँचिरहँदा सबै नेपालीले सोही स्तरको जीवन जीउने आकाँक्षा राख्नु स्वभाविक भएको’ उल्लेख गर्दै पुर्वराजा शाहले ‘तर यहाँ शब्द जालहरुको भूलभुलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले मशहसुस गरेको वर्तमान राष्ट्रको यथास्थिति हो ।’ भनेका छन् ।

राष्ट्रियता जनताको हार्दिकतासंग गाँसिएको संवेदनशिल प्राणतत्व भएको चर्चा गर्दै उनले म बाट हामी र मेरोबाट हाम्रो भन्ने राष्ट्रको गन्तव्य हुनुपर्ने बताएका छन् ।

मुलुकको एकिकरण गरि जीवन्त राख्ने ती महान व्यक्तिहरुको स्मरण गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीको सुख, शान्ति र समुन्नतिको कामना गर्दै पुर्वराजाले आफ्नो सन्देशमा नयाँवर्ष २०७५ ले सबै अटाउने राजनीति, सबैको शिर ठाडो हुने राष्ट्रिय भावना, अटल सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, धीर राष्ट्रप्रेम तथा सबैको समुन्नति प्रदान गरोस् भन्ने चाहना राखेका छन् ।