नर्भिकद्वारा सगरमाथा आरोहीलाई २५ लाख

256

काठमाडौं ।

नर्भिक अस्पतालले सगरमाथा आरोही महिला पत्रकार समूहलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । अस्पतालको २५ औं वार्षिकोत्सव मनाउने सिलसिलामा शनिबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले उक्त चेक प्रथम महिला सगरमाथा आरोहण समूहकी नेतृ रोजिता वुद्धाचार्यलाई हस्तान्तरण गरीन ।

सोही अवसरमा अस्पतालले काठमाडौं ११ नं वडाका नागरिकलाई स्वास्थ्य सेवामा नर्भिक अस्पतालको उपचार सेवामा २० प्रतिशत विशेष सहुलियत दिने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
सहमतिपत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह र ११ नं वडाका तर्फबाट अध्यक्ष हिरालाल तण्डुकारले हस्ताक्षर गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा स्वास्थ्यवद्र्धक सन्देशसहितको प्रभातफेरी कार्यक्रमको साथै अस्पतालमा भर्ना भएका अन्तरङ्ग विरामीलाई फलफूल वितरण लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य, पूर्व उप–प्रधानमन्त्री तथा काठमाडौं १ का सांसद प्रकाशमान सिंह, आरोहण टोली नेतृ बुद्धाचार्य, कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह, नर्भिक अस्पतालका सद्भावना दूत बरिष्ठ कलाकार हरिवंश आचार्य र वडाध्यक्ष हिरालाल तण्डुकार लगायतले बोलेका थिए ।