भक्तपुर ।स्थानिय निकायले आफ्नो मौलिक विषय वस्तु समेटेर पाठ्यक्रम बनाउन अधिकार प्राप्त भए सँगै भक्तपुर नगरपालिकाले देशमा नै पहिलो बन्दै पाठ्यक्रम निर्माण गरेको छ । देशमा नै पहिलो बन्दै भक्तपुर नगरपालिकाले आफ्नो पाठ्यक्रम आफै विकास गरे सँगै स्थानिय तहमा भएका विद्यालयहरुमा खुसी छाएको छ ।
‘विद्यालयले बनाउनुपर्ने पाठ्यक्रम स्रोतकेन्द्रले पनि बनाउन नसकेको बेला अहिले नगरपालिकाले बनाइदिएको छ, यो कामबाट खुसी भएको छु ।’
भक्तपुरको च्याम्हासिँहस्थित वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले भने ।
सरकारी स्कुलका प्रधानाध्यापक धन्छाले मात्र नभएर भक्तपुरको कमलविनायकस्थित निजि विद्यालय पारागन एकेडेमी(सेकेण्डरी बोर्डिङ स्कुल)का प्रिन्सिपल पुण्यराम कवांले पनि स्थानीय क्षेत्रका कला, संस्कृति, भाषा, उत्पादन आयआर्जन आदि विषयमा बालबालिकालाई जानकारी दिने उद्देश्यले तयार गरेको पाठ्यक्रमबाट खुसी लागेको बताए ।
‘स्थानीय पाठ्यक्रम नहुँदा हामी विभिन्न अन्य कितावहरु, जनरल नलेज पढाइरहेका थियौं, अब भने आफ्नै पहिचान झल्किने पाठ्यक्रम पढाउने पाउने भएका छौं ।’ उनले भने ।
बालबालिकालाई विद्यालय स्तरबाटै सम्बन्धित जिल्लाको विभिन्न पहिचान गराउने उद्देश्यले शिक्षा मन्त्रालयले स्थानीय पाठ्यक्रम पढाउन भने पनि अधिकांश विद्यालयले यसलाई बेवास्ता गर्दै आएको बेलामा भक्तपुर नगरपालिकाले भने शैक्षिक सत्र २०७५ देखि नै आफू मातहतमा विद्यालयमा स्थानीय पाठ्यक्रम पढाउने कामको अन्तिम काम सकाउँदा आफूहरुलाई खुुसी लागेको उनीहरुको भनाइ छ ।
शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ ले कक्षा ६ देखि ८ सम्म १ सय पूर्णांकको स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने र कक्षा १ देखि ५ सम्म पढाइ हुने सामाजिक शिक्षा, सिर्जनशील कला र शारीरिक शिक्षाको पाठ्यक्रममा २०÷२० पूर्णंकको पाठ्यभार मिलाएर पाठ्यक्रम तयार गनुपर्ने बन्दोबस्त भएको बेलामा भक्तपुर नगरपालिकाले आइतबार कक्षा १ र कक्षा ६ को स्थानीय पाठ्यक्रम तयार गर्न गठित कार्यदलले पाठ्यक्रम बुझाएको छ ।
नगरपालिकाले गत माघ २६ गते पाँचसदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले दुई महिना काम गरी पाठ्यक्रम निर्माण गरेको कार्यदलका संयोजक एवं जेन्यूइन सेकेण्डरी स्कुलका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले जानकारी दिए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्थानीय तहमा आएको शिक्षालाई बहन गर्ने क्रममा स्थानीय पाठ्यक्रम निर्माण गरेको बताउँदै स्थानीय पाठ्यक्रम निर्माणले भक्तपुरको इतिहास नयाँ पुस्तामा सञ्चार गर्न सहज हुने बताए ।
‘विश्वव्यापिकरणको नाममा हामी हाम्रो पहिचान गुमाउँदैछौं, यो अवस्थामा नगरपालिकाले बनाएको स्थानीय पाठ्यक्रम र पाठ्यक्रममा समेटिएका विषयवूस्तुले पक्कै पनि नयाँ पुस्तालाई हाम्रो पहिचान, इतिहासबारे बुझाउन सहयोग पुग्छ ।’ उनले भने ।
कार्यदलले उक्त पाठ्यक्रमको नाम ख्वपको पहिचान जुराएको छ ।
पाठ्यक्रममा ख्वको नामाकरण र भूबनोट, ख्वपको इतिहास, स्थानीय विभिन्न जातजाति, व्यक्तित्व र जनसंख्या, स्थानीय विविध संस्कृति, प्रचलित स्थानीय संस्कारहरु, स्थानीय बोलीचाली र लिपि, स्थानीय सम्पदा र कला, स्थानीय व्यवसाय, स्थानीय उपचार विधि, स्थानीय खेल, स्थानीय पर्यटन गरी विभिन्न ११ विषय समेटेर पाठ्यक्रम तयार गरिएको कार्यदलले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्व डीन प्रा. पृथुचरण वैद्यले भने, ‘पाठ्यक्रम विकास केन्द्रलाई भए यो काम गर्न घटीमा पनि एक वर्ष लाग्थ्यो, भक्तपुर नगरपालिकाअन्तर्गतको यो कार्यदलले भने दुई महिनामै पाठ्यक्रम बनाइदिएको छ । यो राम्रो कुरा हो ।’
पाठ्यक्रम हस्तान्तरणमा नगरपालिकाका उपमेयर रजनी जोशी, प्रा. सिद्धिरत्न शाक्य, प्रधानाध्यापक उद्धव सुजखु, रोशनराज तुइँतुइँ, राजेन्द्र श्रेष्ठ लगायतयले पाठ्यक्रमको कार्यान्वयनको लागि चुनौति रहेको बताउँदै पाठ्यक्रमको मर्म अनुसारको पाठ्यपुस्तकका लागि नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।