तीनवर्षपछि एसओएस वालग्रामबाट ६ वालवालिका घर फिर्ता

358

‘बाबु गुमाएकाहरु आमाको काखमा, आमा गुमाएकाहरु कान्छी आमाको भरमा’

बलराम प्यासी
काठमाडौं ।
१२ र २९ वैशाख २०७२ को शक्तिशाली भुकम्पमा परि बाबु÷आमामध्ये एकजना गुमाएर एसओएस वालग्राम सानोठिमीको अस्थायी संरक्षणमा रहेका १२ वालवालिकामध्ये तीनवर्षपछि ५ जना आफ्नै घर फर्केका छन । एकजना वालिका अर्काे हप्ता आफ्नो घर फर्किँदैछिन । उनीहरु वालग्रामको सानोठिमीका १६ घरमध्ये विभिन्न घरमा बाँडिएर बसेका थिए ।

वालग्रामको अस्थायी संरक्षणपछि पुनः आफ्नै घर फर्किन लागेका बाबु गुमाएका वालवालिका आमाकै काखमा र आमा गुमाएका वालवालिका भने कान्छी आमाको संरक्षणमा पर्ने भएका छन् ।

भूकम्पका कारण पत्नि गुमाएका पतिले दोस्रो विहे गरी घरजम गर्न लागेका र पति गुमाएका पत्निले भने आफ्ना छोराछोरीलाई आफैं रेखदेख गर्ने भएकोले उनीहरुलाई वालवालिका फिर्ता दिईएको वालग्रामले जनाएको छ । वालग्रामका अनुसार भुकम्पमा परि भत्किएको घर पनि तीनवर्षपछि बनिसकेको छ ।
तत्कालिन महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालयले भूकम्पका कारण आमा या बाबुमध्ये एकजनाको मृत्यु भई घरबार क्षति भएका साना वालवालिकालाई छोटो अवधिको लागि वालग्राममा संरक्षण दिन निर्देशन दिए बमोजिम वालग्रामले भक्तपुरका १२ जना वालवालिकालाई छोटो अवधिको लागि संरक्षण दिएको थियो ।
भूकम्प लगत्तै एसओएस वालग्राम नेपालले आकस्मिक सहायता कार्यक्रम (इमर्जेन्सी रेस्पोन्स प्रोग्राम) अन्र्तगत सम्वन्धित जिल्ला वालकल्याण समितिसंगको सहकार्यमा उद्धार, राहत तथा दिवा शिशु स्याहार कार्यक्रम सञ्चालन गरेको थियो ।
१२ मध्ये ६ जना वालवालिकाको भने भूकम्पमा परि बाबुआमा दुवै जना गुमेका कारण उनीहरु भने आत्मनिर्भर नहुन्जेलसम्म वालग्रामको संरक्षणमा रहने एसओएस वालग्राम सानोठिमीका आयोजना निर्देशक खगेन्द्रकुमार नेपालले बताए ।
आफ्नै घर फर्किएका वालवालिकालाई उचित शिक्षादिक्षाका लागि भने वालग्रामद्धारा सानोठिमीमा सञ्चालित हर्मन माइनर स्कुलमा अध्ययनको व्यवस्था मिलाएको छ भने त्यहाँसम्म आउन नसक्ने वालवालिकालाई उनीहरुको घरपायकको विद्यालयमा पढ्न आवश्यक पर्ने शैक्षिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
१२ बैशाखको भूकम्पको लगत्तैदेखि एसओएस वालग्राम नेपालले भक्तपुरका साथै भूकम्प प्रभावित क्षेत्रबाट गरि मुलुकभरीका ४८ जना वालवालिकालाई ९ वटा एसओएस वालग्राममा स्थायी र अस्थायी संरक्षण गरेको थियो ।
वालग्रामको अस्थायी संरक्षणमा राखिएका भूकम्पपीडित अन्य वालवालिकामध्ये बाबु या आमा जीवित रहेका वालवालिकालाई पनि ती जिल्लाका वालग्रामले सम्वन्धित अभिभावकको जिम्मामा घर फिर्ता गरिराखेको वालग्राम नेपालले जनाएको छ । वालग्रामको काभ्रेले काभ्रे, सिन्धुपाल्चोक, दोलखा तथा भरतपुरले भरतपुर, मकवानपुर र नवलपरासीका तथा पोखराले कास्की, गोरखा र लमजुंगका वालवालिकालाई अस्थायीसंरक्षण दिँदै आएको थियो ।
बाबुआमा जीवित भएका तर घरबार क्षति भएका वालवालिकाको हकमा भने वालग्रामले ती जिल्लाहरुमा अस्थायी शिवीर खडा गरि दिवा सेवा सञ्चालन गरेको वालग्रामले जनाएको छ ।
एसओएस वालग्राम अन्तराष्ट्रियको नीति बमोजिम बाबुआमा दुवै गुमाएका वालवालिकालाई मात्रै वालग्रामले उचित शिक्षादिक्षा दिएर उनीहरु आत्मनिर्भर नहुन्जेल (युवाअवस्था)सम्म संरक्षणमा राख्ने गर्छ । त्यसपछि उनीहरुलाई क्रमशः समाजमा पुर्नस्थापना गर्ने गरिन्छ ।
यसैविच एसओएस वालग्राम सानोठिमीमा रहेका र त्यहाँबाट हुर्केर समामा पुर्नस्थापना भएका छोराछोरीहरु वालग्रामस्थित आफ्नो घरमा आएर आफुलाई स्याहार सुसार गरेका आमाको मुख हेरेका छन । उनीहरले आफ्नो क्षमता अनुसारको खानेकुरा र उपहार दिएर आमाको मुख हेरेको वालग्राम सानोठिमीले जनाएको छ ।