उमेरले ८१ बर्ष पुगेका रामचन्द्र अधिकारीले योगाभ्यासको पद्मासनमा वसेर पौडी पोखरीमा मजाले वारपार गरेर सबैलाई आश्चर्यचकित पारेका छन । सुनसरीको इटहरीस्थित ओसियन पार्कमा रहेको पौडी पोखरीको ८० फिट लामो पोखरीमा अधिकारीले मज्जाले पद्मासनमा बसेर वारपार गर्न सफल भएका छन । ८० फिट अर्थात २५ मिटर लामो दुरी रहेको पोखरीको एकछेउबाट पद्मासनमा बसेर उत्तानो परेर हाम फालेर फटाफट अर्को किनारमा पुगेको दृश्यले सबैलाई अचम्मित तुल्यायो ।
लामो समयदेखि योगाभ्यासमा रहेर स्वस्थ रहेका अधिकारीले बालागुरु षडानन्द अधिकारीको प्रेरणाले आफुले पद्मासनमा बसेर नदी वारपार गर्ने अभ्यास धेरै पटक गरिसकेको सुनाए । उनले बराहक्षेत्रस्थित कोकाह नदी दक्षिणतिर सप्तकोशी नदी पनि यसरी नै तरेको सुनाए ।
यतिमात्र होईन उनले तमोर नदी कालीगण्डकी र भारत बनारसको गङ्गोत्री नदी पनि वारपार गरिसकेका छन । ९ बर्षको उमेरदेखि नै पानीमा खेल्न थालेका उनी आत्मविश्वास गरेर कुनै काम थाले सम्भव हुने बताउँछन ।