मुलुकभरी नयाँ विद्यार्थी भर्ना अभियान शुरु

779

काठमाडौं । ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ नारा र पाठ्यपुस्तकका साथ सरकारले बुधबारदेखि मुलुकभरी नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । सातै प्रदेशका ७७ जिल्लामा बुधबारदेखि शुरु भएको सरकारको भर्ना अभियानको पहिलो दिन सफलतापुर्वक सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २ नं प्रदेश अन्तर्गतको सिराहा जिल्लाको लाहानमा आयोजित कार्यक्रममा स्थानीय कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माविमा २ जना नयाँ विद्यार्थीको अभिभावकत्व लिएर उनीहरुलाई शैक्षिक सामाग्री समेत दिएर विद्यालय भर्ना गरेका छन् ।

प्रधानमन्त्री ओलीले अभिभावकत्व लिएका दुई विद्यार्थीमा १ कक्षाका रुपाकुमारी मण्डल र वालकक्षामा पवन मरिक डोम रहको शिक्षा, वित्रान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैलाई शिक्षाको पहुँच पुर्याउन चुनौति रहेको उल्लेख गर्दै दलित र विपन्न वर्गका केटाकेटी अझैपनि शिक्षाबाट वञ्चित रहेको बताए ।

निरक्षरता उन्मूलन गरि मुलुकलाई दुईवर्षभित्र साक्षर घोषणा गर्न सरकार लागिपरेको र सो लक्ष्य हासिल गर्न सबैवर्गले सहयोग गर्नुपर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वानमा शुरु भएको सो अभियान अन्र्तगत अभियानको पहिलो दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले दलित छात्र सोनुकुमार खत्वेको अभिभावकत्व लिएर सामुदायीक विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियानलाई सफल पार्न सबैसंग आग्रह गरे ।

मन्त्री पोखरेलले सिराहा, सप्तरी र धनुषाका दलित तथा विपन्न विद्याथर््ीको अभिभावकत्व लिएर उनीहरुलाई भर्ना गरेका छन ।

उनले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ धारापानीस्थित जनता मावि तथा प्रविधिक शिक्षालयमा अर्चना विक, रचनाकुमारी विकक र रेखा अधिकारीलाई भर्ना गरेका छन् । साथै उनले राजविराज नगरपालिका ९ स्थित मलेठगढियामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा टिंकु मरिकको अभिभावकत्व लिँदै नयाँ विद्यार्थी भर्ना गरेका छन् ।

साथै २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सोनुकुमार खम्बेका साथै पुर्वमन्त्री विश्वनाथ शाहले श्यामसुन्दर सदा र पुर्वमन्त्री उमेश यादवले राजाकुमार सदाको अभिभावकत्व लिँदै उनीहरुलाई विद्यालयमा भर्ना गरेका छन् ।