नर्भिकको रजत महोत्सवमा १४ चिकित्सक सम्मानित

415

काठमाडौँ ।
नर्भिक अस्पताल थापाथलीले स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेका १४ वरिष्ठ चिकित्सकलाई शनिबार एक समारोहका वीच सम्मान गरेको छ ।
अस्पताल स्थापनाको २५ वर्ष (रजत महोत्सव) का अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा ३ नं प्रदेश प्रमुख अनुराधा कोइरालाले चिकित्सकहरुलाई सम्मान गरीन ।
सम्मानित हुने चिकित्सकहरुमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.डि.बी.कार्की, डा.गोपालप्रसाद आचार्य र डा.श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञद्वय डा.सरस्वती पाध्ये र डा.दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा.गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेशनाथ गंगोल, डा.एस.के.भट्टाचार्य र वरिष्ठ बालरोग विशेषज्ञद्वय डा.हेमाङ्गमणि दीक्षित र डा.मणिन्द्र रञ्जन, डा.कान्ति गिरी, डा.रामभद्र अडिगा, डा.विजयलाल गुरुवाचार्य र डा.मृगेन्द्रराज पाण्डे छन ।
अस्पतालमा २५ वर्ष सेवा पुरा गरेका चार कर्मचारी वरिष्ठ व्यवस्थापक दिनेश चित्रकार, वरिष्ठ अटेन्डेण्ट कमलादेवी थारु, वरिष्ठ टेलिफोन अप्रेटर उषामैया केसी र वरिष्ठ शल्यक्रिया प्राविधिक दिपक प्रसाद आचार्यलाई पनि रजत महोत्सवमा सम्मान गरिएको थियो ।
रजत महोत्सवको अवसरमा अस्पतालले मिर्गाैला विरामीका लागि शनिबारदेखि शुरु गरेको चार शैय्याको अत्याधुनिक सुविधायुक्त हेमोडाइलाइसिस सेवाको प्रदेश प्रमुख कोइरालाले शुभारम्भ गरीन । उक्त सेवाका विशेषताबारे नर्भिक अस्पतालका वरिष्ठ नेफ्रोलोजिष्ट डा.राजेन्द्र अग्रवालले जानकारी गराए ।
स्थापनाको पच्चीस वर्षे यात्रामा नर्भिक अस्पतालले पार गरेका विविध आरोह अवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि प्रदेश प्रमुख कोइरालाले विमोचन गरीन ।
कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले सन् २०३० सम्ममा सबैलाई स्वास्थ्य सेवा पु¥याउने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा नर्भिक अस्पतालले गरेको योगदानको प्रशंसा गरीन ।
सरकारी र नीजि अस्पताल एकअर्काका परिपुरक भएको चर्चा गर्दै उनले दुवै अस्पतालको उद्धेश्य सबैलाई सुलभ उपचार सेवा दिनु रहेको बताइन ।
प्रविधि हस्तान्तरण, सेवा विविधिकरण, सार्वजनिक–निजी साझेदारीको विकास मुलुकको लागि वर्तमान आवश्यकता भएको चर्चा गर्दै कोइरालाले दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन ।
नर्भिक अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल स्थापना भएको बताउँदै नर्भिकलाई सोही अनुरुप विकास गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको बताए ।
अस्पतालका सद्भावनादूत एवं वरिष्ठ कलाकार हरिवंश आचार्यले औषधोपचारका लागि अथाह धनराशी विदेशिएको यथार्थ औँल्याउँदै त्यसो हुन नदिन नर्भिकले अनवरत रुपमा प्रवाह गरेको सेवा अनुकरणीय रहेको चर्चा गरे ।
अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई मूल मर्म एवं धर्म मानेर आफूहरुले इमानदारीपूर्वक काम गरिरहेको बताइन । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले पनि बोलेका थिए ।
अस्पतालका सञ्चार तथा जनसम्पर्क नायव महाप्रवन्धक आरपि मैनालीका अनुसार २०५० सालमा तीस शैय्याबाट नर्सिङ होमका रुपमा सेवा शुरु गरेको नर्भिक अस्पतालले २५ वर्षको अवधिमा लाखौं विरामीलाई वहिरंग, अन्तरंग, शल्यक्रिया लगायतको सेवा दिइसकेको छ ।