बालकोटका शर्माले लिए धादिंगका १८ विद्यार्थीको जिम्मा

537

बलराम प्यासी

काठमाडौं ।

सरकारले शैक्षिक सत्र २०७५ को लागि गत ५ बैशाखदेखि शुरु गरेको नयाँ विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि, शिक्षामन्त्री, मन्त्री र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले दलित तथा विपन्न वलावालिकाको अभिभावकत्व लिइसकेका छन ।

मुलुकभर रहेका सामुदायीक विद्यालयको स्तरोन्नति गर्दै विद्यार्थी संख्या बढाउन ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ नारा र पाठ्यपुस्तकका साथ सरकारले नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेको हो ।

यसै सिलसिलामा भक्तपुरको सुर्यविनायक नगरपालिका—२ बालकोटका शिक्षा तथा समाजसेवी किरण शर्मा पौडेलले धादिंगका १८ वालवालिकाको शिक्षाको जिम्मा लिएका छन् ।

धादिंग जिल्लाको थाक्रे गाउँपालिका दामेचौरस्थित आर्दश माविका १६ र शिवशंकर प्राविका २ विद्यार्थीलाई एकवर्षसम्म पढाइदिने गरि शर्माले जिम्मा लिएका हुन । उनी अरु ४ विद्यार्थी थप्ने सोचाइमा छन् ।

‘मलगायत मेरा आफन्त र शुभचिन्तकको सहयोगमा हामीले जनही मासिक ५ सय रुपैयाँको हाराहारी खर्च छुट्याएका छौं’—उनले भने—‘यसबाट उनीहरुको भर्ना, विद्यालय पोशाक, स्कुल व्याग र शैक्षिक सामाग्री जुटिरहेको छ ।’

त्यसो त उनले सरकारले नयाँ भर्ना अभियान शुरु गर्नुभन्दा १ वर्ष अघि नै अर्थात गतवर्षदेखि नै ती विद्यालयका १६ विद्यार्थीलाई पढाउने जिम्मा लिएका थिए । ‘यो वर्ष २ जना नयाँ विद्यार्थीलाई थप्यौं’ शर्माले भने ‘अरु ४ जना थप्ने सोचाइमा छौं ।

गतवर्ष शर्माले शैक्षिक खर्च जुटाइदिएर पढेका १६ विद्यार्थीमध्ये २ जनाले यो वर्ष पढाई छोडेकोमा भने उनी चिन्तित छन । विद्यार्थीहरु ८ या ९ कक्षामा जाने वित्तिक्कै पढाई छोड्ने चलनले समस्या परेको उनले बताए ।

‘सडकछेउ विद्यालय रहेकोले जुंगाको रेखी बस्न शुरु भएपछि छात्रहरु बस या मिनीबसको खलासी भएर काठमाडौं आउन रुचाउने रहेछन, त्यसैका कारण उनीहरु माथिल्लो कक्षामा पढ्न इच्छुक देखिएको पाइएन’ उनले भने ।

समाजसेवी शर्मा केही दिनअघि विद्यालयमा नयाँ विद्यार्थी भर्ना गरि उनीहरुलाई विद्यालय पोशाक, पाठ्यपुस्तक, स्कुल ब्याग, शैक्षिक सामाग्री, नंग काट्ने (नेलकटर) टुथपेष्ट, ब्रस, साबुन, काँइयोलगायतका सामग्री वितरण गरेर फर्केका थिए ।

काठमाडौंदेखि करीव ६० किलोमिटर टाढा त्रिभुवन राजपथ किनारमा रहेको आर्दश माविमा प्रेम रावत फाउण्डेशनले हरेक दिन निःशुल्क खाना खुवाउने कार्यक्रममा सहभागी हुने क्रममा गतवर्ष शर्मा सो विद्यालय पुगेका थिए ।

आर्थिक अभाव र विपन्नताको कारण विद्यालय भर्ना हुन र विद्यालय पोशाक किन्न नसकेका विद्यार्थीलाई छनौट गरि समाजसेवी शर्माले गतवर्ष १६ जना विपन्न विद्यार्थी पढाउने जिम्मा लिएका थिए ।

वार्षिक करीव डेढलाख रुपैयाँको लगानीमा २० देखि २२ जना विद्यार्थीले शिक्षा पाउँछन भने त्यति खर्च गर्न आफु, आफ्नो परिवार र आफ्ना शुभचिन्तकहरु तयार रहेको बताउादै उनीहरुले पढ्न चाहेमा आफुहरु १२ कक्षासम्म निरन्तर सहयोग गर्ने शर्माले बताए ।

त्यसो त उनले त्यसभेगका विपन्न महिलाको आर्थिकस्तर उकास्दै आत्मनिर्भर बनाउन ३ थान सिलाई मेशिनको साथै ती मिहलालाई सिलाईसम्वन्धि तालीमका लागि पनि आर्थिक सहयोग गरेको बताए ।

यसैविच, बालकोटकै एकमात्र सामुदायीक विद्यालय महेन्द्र शान्ति मावि व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार कार्कीले आफ्ना स्वर्गीय बुबा कृष्णबहादुर कार्की, स्वर्गीय आमा हीराकुमारी कार्की र स्वर्गीय दाजु अर्जुन कार्कीको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोषबाट छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

सो विद्यालयका १ कक्षादेखि ९ कक्षासम्मका उत्कृष्ट एक छात्र र एक छात्रालाई नगदसहितको छात्रवृत्ति दिने उद्धेश्यले स्थापित सो कोषबाट थप २ जना विद्यार्थीलाई ६ कक्षादेखि १० सम्म निःशुल्क पढाउने गरि छात्रवृत्ति दिने घोषणा गरेका छन ।

अध्यक्ष कार्कीले भने ‘छात्रवृत्तिको लागि विपन्न तर जेहेन्दार र मिहेनती एकजना छात्र र एकजना छात्राको खोजीमा छु ।’