भक्तपुर
मध्यपुर थिमी प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण गर्नेलाई पहिचानसहित कारबाही थाल्न स्थानीय जनप्रतिनिधिले २४ घन्टे ‘अल्टिमेटम’ दिएका छन् ।
जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलाल, मध्यपुर थिमी नपाकी उपप्रमुख अञ्जना मधिकर्मी र वडाध्यक्षसँगै चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका वडाध्यक्ष एवं नगर कार्यपालिका सदस्यले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाउँदै ‘अल्टिमेटम’ दिएका हुन् ।
प्रमुख गेलाल, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, थिमी नगरपालिका उपप्रमुख मधिकर्मीले निर्वाचित जनप्रतिनिधिमाथि दिनदहाडै ज्यान मार्ने उद्देश्यले सांघातिक हमला गर्ने समूह वा व्यक्तिलाई यथाशीघ्र पत्ता लगाउन माग गरेका छन् ।
उपप्रमुख मधिकर्मीले ज्ञापनपत्र बुझाएको २४ घन्टाभित्र सांघातिक हमला गर्नेको पहिचान गरी सार्वजनिक नगरिए दबाबमूलक कार्यक्रम गर्ने चेतावनीसमेत दिइन् । प्रमुखमाथि सांघातिक हमलापछि भक्तपुर जिल्लाभरका नगरपालिकाले आइतबार ‘पेन डाउन’ गर्दै कामकाज ठप्प पारेका छन् ।
घटना भएको २४ घन्टा बित्न लाग्दासमेत घटनामा संलग्न व्यक्तिको पहिचान गर्न नसक्नु प्रहरी प्रशासनको क्षमतामाथि नै ठूलो प्रश्न उब्जिएको उनीहरूले औंल्याएका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाइएको र यस्ता घटना दोहोरिन नदिन प्रहरी प्रशासन सचेत रहेको आश्वासन दिएका छन् ।
त्यस्तै, महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक किरण राणाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएकी छन् । प्रहरीले घटनासम्बन्धमा कुनै प्रगति नगरेपछि प्रमुखमाथिको हमलासम्बन्धी अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखा (सीआईबी) नै परिचालन भइसकेको जनाएको छ ।
शनिबार साँझ मध्यपुर थिमी नगर प्रमुख श्रेष्ठमाथि गठ्ठाघरस्थित आफ्नै घरभित्र प्रवेश गर्नै लाग्दा फलामे रडसहित आएका दुई अज्ञात व्यक्तिले अन्धाधुन्द प्रहार गर्दा श्रेष्ठको टाउको र हातखुट्टामा चोट लागेको छ ।
सुरुमा मध्यपुर अस्पतालमा उपचार गरिएका उनको अहिले नगरपालिकामातहत सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालमा उपचार भइरहेको छ । प्रहार गरिएको रडबाट श्रेष्ठको हातखुट्टाका मांसपेशी फुटेको अस्पतालले जनाएको छ ।
यसैबीच, मध्यपुर श्रेष्ठमाथि भएको सांघातिक हमलाको विरोधमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले भत्र्सनासहित विज्ञप्ति जारी गरेको छ । घटना जानकारी पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको र आक्रमणमा संलग्नको खोजी कार्य भइरहेकाले छिट्टै कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी पोखरेलले विज्ञप्तिमार्फन जनाएका छन् ।
नगर प्रमुखमाथि आक्रमणको प्रगति विषयमा बुझ्न र शीघ्र कारबाही माग गर्दै ज्ञापनपत्र बुझाउन गएका जनप्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले उल्टै ‘प्रेस विज्ञप्ति’ थमाएको थियो ।