‘विद्यार्थी भर्नाका लागि आवश्यक परे निर्देशन’ : मन्त्री पोखरेल

398

 

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले सरकारले ५ बैशाखदेखि अभियानको रुपमा शुरु गरेको नयाँ विद्यार्थी भर्ना अभियान हाललाई अनुरोधमात्रै भएको उल्लेख गर्दै आवश्यक परेमा सरकारले निर्देशन नै जारी गर्ने बताएका छन् ।

सरकारले अरबौं रुपैया लगानी गरेको सामुदायीक विद्यालयको गुणस्तर र विद्यार्थी संख्या दिनप्रतिदिन घट्दै जान थालेपछि सामुदायीक विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान राष्ट्रिय कार्यक्रमकै रुपमा शुरु गरेको हो ।

। ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ नारा र पाठ्यपुस्तकका साथ सरकारले ५ बैशाखदेखि मुलुकभरी नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेको थियो ।

काठमाडौं महानगरपालिका ९ नं वडास्थित सामुदायीक गुहेश्वरी माविले सोमबार आयोजना गरेको नयाँ विद्यार्थी भर्ना अभियान तथा घरदैलो कार्यक्रममा सहभागी भएका मन्त्री पोखरेलले कम्तिमा सबै सरकारी शिक्षकले आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा नभई सामुदायीक विद्यालयमा पढाउन अनुरोध गरे ।

‘सरकारले अहिलेलाई सामुदायीक विद्यालयका शिक्षकलाई आफ्ना छोराछोरी सामुदायीक विद्यालयमा पढाउन अनुरोध मात्रै गरेको हो, यसको अटेर गरिएमा सरकारी तवरबाटै कडा निर्देशन जारी हुनसक्छ ।’—मन्त्री पोखरेलले कडा रुपमा प्रस्तुत हुँदै भने ।

‘सरकारी तलवमा शिक्षकको जागीर खाएर राजनीति गर्ने, अनि आफैं आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षाको लागि भन्दै नीजि विद्यालयमा पढाउने? यो कदापि सह्य कुरा होइन’—उनले भने—‘शिक्षाको गुणस्तर सुर्धान पहिला शिक्षकबाटै शुरु गर्नुपर्छ ।’

‘शिक्षकमात्रै होइन, सरकारको तलव सुविधा लिने सबै सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायीक विद्यालयमा पढाउनुपर्छ’ उनले भने ‘अनिमात्रै सामुदायीक विद्यालयको गुणस्तर सुध्रिन्छ । ’

विद्यालयलाई विज्ञान र प्रविधिमैत्री बताउँदै मन्त्री पोखरेलले विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने कुरामा पनि जोड दिए ।

कार्यक्रममा मन्त्री पोखरेलले दुईजना वालवालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई शिशु र एक कक्षामा भर्ना गरेका छन । रौतहटबाट सिलसिलामा काठमाडौं आएका श्रमिक ज्योतिक शाह कानुका ४ वर्षे छोरा प्रदिप र ५ वर्षे छोरी अदिति शाहलाई मन्त्री पोखरेलले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरेका थिए ।

सोमबार नै गुहेश्वरी माविले विद्यालय वरिपरिको टोलमा पञ्चेबाजा सहित घरदैलो कार्यक्रम सञ्चालन गरि नयाँ विद्यार्थी भर्नाको लागि आह्वान गरेको थियो ।