भक्तपुर । भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ६० रोपनी १२ आना जग्गा प्रदान गरिने भएको छ ।
केन्द्रको मंगलबार सम्पन्न छैटौं वार्षिकोत्सव समारोहमा भक्तपुरको चाँगुनारायण नपाका मेयर सोमप्रसाद मिश्रले उक्त जग्गा प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मेयर मिश्रले चाँगुनारायण नपा ७ वागेश्वरीस्थित उक्त क्षेत्रफल बराबरको पर्ती जग्गा केन्द्रलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले उक्त वडाका अध्यक्ष ज्ञानबहादुर केसीलगायतका नगर सदस्यहरुलाई साक्षी राखी उक्त जग्गा केन्द्रलाई दिन नपाको तर्फबाट प्रक्रिया अघि बढाइने सुनाए ।
‘हामी छिट्टै उक्त जग्गा केन्द्रलाई प्रदान गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेर पठाउँछौं’, उनले भने, ‘कम्तीमा एकमहिनाभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्छौं ।’
आठ फिट फराकिलो बाटो छोएको उक्त जग्गाको एउटै कित्ता रहेको छ । दक्षिण पश्चिम भिरालो उक्त जग्गा साविक वागेश्वरी गाविस ९ क को कित्ता नम्बर २१६ रहेको नपाले जनाएको छ ।
उक्त जग्गा केन्द्रलाई उपलब्ध गराएपछि वागेश्वरी क्षेत्रको विकास निर्माणमा धेरै सहयोग पुग्ने वडा अध्यक्ष केसीले विश्वास व्यक्त गरे ।
बागिश्वरीमा १०० शय्याको डाइलासिस सेन्टर बन्ने
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उक्त जग्गा प्राप्त हुनासाथ अस्थायी टहरा बनाएर तत्काल एकसय शय्याको डाइलासिस सेन्टर सञ्चालनमा ल्याइहाल्ने बताए ।
सरकारले डाइलासिस निःशुल्क गर्नेबित्तिकै केन्द्रमा अहिले डाइलासिस गराउनेको चाप बढेको बढेयै छ । जसले गर्दा डाइलासिस गराउन मृगौला बिरामीहरुले महिनादिनको लाम बस्नुपर्छ ।
उक्त जग्गा प्राप्त भएपछि भने डाइलासिस गराउन लाम बस्न नपर्ने कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउँछन् ।
केन्द्रले केन्द्रसँगै जोडिएको नेपाली सेनाको नाउँमा रहेको जग्गा प्राप्तिको लागि धेरै प्रयास गरेको थियो । यसअघिका रक्षामन्त्री भीमसेनदास प्रधानसम्म केन्द्रले उक्त जग्गा प्राप्तिको लागि पहल गरेको थियो तर नेपाली सेना सकारात्मक नभएपछि उक्त जग्गा प्राप्त नहुने देखिएपछि केन्द्रले भक्तपुरका चारवटा नगरपालिका गुहारेको थियो । ठाउँ अभावले केन्द्र बिरामीको चाप थेग्नै नसक्ने अवस्था पुगिसकेको थियो ।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मृगौला प्रत्यारोपणमा अब्बल सावित भएको केन्द्रले अवका वर्षमा मुटु तथा कलेजो प्रत्यारोपणमा ध्यान केन्द्रित गर्ने जानकारी दिए ।
‘मृगौला प्रत्यारोपणमा केन्द्र अब्बल भइसकेको छ’, कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘अबका वर्षहरुमा मुटु र कलेजो प्रत्यारोपणमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’
केन्द्रले कलेजो प्रत्यारोपण गरिसकेको छ । त्यस्तै मुटु प्रत्यारोपणको लागि आवश्यक क्याथलाबसँगै आईसीयू कक्ष निर्माण गरिसकेको केन्द्रले जनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलले चाँगुनारायण नपालाई छिटोभन्दा छिटो जग्गा प्रदान गर्ने प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पठाउन आग्रह गरे ।
‘नपाले सबै प्रक्रिया पूरा गरेर पठाउनासाथ बाँकी काम मन्त्रालयको तर्फबाट काम गर्छौं’, उनले भने ।
कार्यक्रममा निमित्त स्वास्थ्य सचिव डा. प्याकुरेलले केन्द्रकै सर्वोत्कृष्ट कर्मचारीतर्फ प्याथोलोजी विभागका बालकृष्ण अवाललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरे ।
त्यस्तै केन्द्रका प्रत्येक विभागका उत्कृष्ट कर्मचारी, नर्स एवं चिकित्सकहरुलाई सम्मान गरिएको थियो ।