भक्तपुर
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्ति अझै फरार रहे पनि उसको जुत्ता भने प्रहरीले बरामद गरेको जनाउनु लाजमर्दो भएको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।
एमाले भक्तपुरले आइतबार पत्रकार सम्मेलन गर्दै मेयर श्रेष्ठमाथि आक्रमण गरेको २२ दिन पूरा हुँदा पनि आक्रमणकारी पक्राउ गर्न नसकेको भन्दै प्रहरी प्रशासनको विरोध गरेको छ ।
गृहमन्त्री, रक्षामन्त्री, प्रदेश प्रमुख एवं प्रदेशका गृहमन्त्रीलगायतले निर्देशन दिँदा पनि भक्तपुर प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिन असफल हुनु रहस्यमय भएको एमाले जिल्ला कमिटीले जनाएको छ ।
पत्रकार सम्मेलनमा एमाले भक्तपुर जिल्लाका कार्यवाहक अध्यक्ष वचन देउजाले आफ्नै दलको नेतृत्वमा सरकार हुँदा पनि आफ्नै नेता एवं जनप्रतिनिधिलाई आक्रमण गर्नेहरू पक्राउ नपर्नु निन्दनीय एवं सर्मनाक भएको बताए । ‘प्रमुख आक्रमणकारीलाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै भक्तपुर प्रहरीलाई निर्देशन दिन बाँकी छ’, कार्यवाहक अध्यक्ष देउजाले भने, ‘प्रमबाहेक दोस्रो वरियतामा रहेका रक्षामन्त्री, गृहमन्त्री, प्रदेश प्रमुख, प्रदेश गृहमन्त्रीले समेत आक्रमणकारीलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिनुभइसक्यो । तैपनि आक्रमणकारी पक्राउ नपर्नु रहस्यमय भएको छ ।’
उनले भक्तपुर प्रहरीको प्रयास छिटो सफलतामा नपुगे सिंगो एमाले दबाबमूलक कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए । एमाले युवा नेता एवं भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले मेयरले आफूले सचेतना नअपनाउँदा उनी आक्रमणमा परेको बताए । सांसद बस्नेतले प्रमुख श्रेष्ठमाथिको आक्रमणमा आफ्नोसमेत नाम मुछिएकोमा आक्रोश पोख्दै एमालेभित्र धमिलो पानीमा माछा मार्ने तŒवहरूले यस्तो हल्ला फैलाएको दाबीसमेत गरे ।
सुरक्षा निकायको अहिलेसम्मको अध्ययन अनुसन्धानले प्रमुख श्रेष्ठ आक्रमणमा विप्लव नेतृत्वको नेकपाको संलग्न हुनसक्ने उनको दाबी थियो । उनले भने, ‘यस घटनाले जनप्रतिनिधिमाथि ‘थ्रेट’ बढेको छ ’ भक्तपुरकै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई समेत आक्रमण हुनसक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।
मध्यपुर थिमी नपाका प्रमुख श्रेष्ठ नेकपा एमाले भक्तपुरका जिल्ला सचिवालय सदस्यसमेत हुन् । उनलाई गएको वैशाख ८ गते साँझ घर छिर्ने क्रममा अपरिचित दुई जनाले सांघातिक आक्रमण गरेका थिए ।
प्रमुख श्रेष्ठको घरमा रहेको सीसीटीभी क्यामेराको फुटेजबाट आक्रमणकारीको पहिचान भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले प्रमुख आक्रमण घटनामा संलग्न भएको आशंकामा वैशाख १२ गते नै पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार आक्रमणकारीले मोबाइलका दर्जनांै सीम र दर्जनौं स्थान परिवर्तन गर्दा नियन्त्रणमा लिन कठिन भएको हो तर उनीहरूको धेरै नजिक पुगेको प्रहरीको दाबी छ ।
घटनाबारे धेरै दृष्टिकोणबाट अध्ययन अनुसन्धान भइरहेको जनाउँदै आक्रमणकारीसम्म पुग्न प्रहरीलाई धेरै समय लागेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए ।