भक्तपुर । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले असारे विकासले देश समृद्ध नहुने बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगरसभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले असारे विकासमा पनि सरकारी कार्यालयहरुबीच समन्वय र सहकार्यको अभाव रहेको बताएका हुन् ।
‘हाम्रो विकास असारे हुँदै आएको छ । त्यसमाति सरकारी कार्यालयहरुबीच समन्वय र सहकार्य हुँदैन’, उनले भने, ‘यस्तो विकासले देश समृद्ध हुनसक्दैन ।’
मन्त्री बाँस्कोटाले संविधानमै तीन तहको सरकारको प्रवन्ध गरिसकेकाले स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्रको सबै काम गर्नुपर्ने सुझाव दिए ।
उनले विकास निर्माणको नाउँमा जनतालाई आश्वासनको पोकोमात्रै नबाँड्न सचेत गरे । यस्तो आश्वासनलाई वास्नाको संज्ञा दिँदै मन्त्री बाँस्कोटाले भने, ‘वास्नाले अघाउँदैन । अहिले जनतामा विकास निर्माणको आश्वासनको पोको बाँड्ने प्रवृत्ति बढेको छ ।’
उनले जनप्रतिनिधिहरुलाई धेरै योजना प्रस्तुत गरेर काम केही नगर्ने, भाषण धेरै गर्ने काम सिन्को नभाँच्ने र सुशासन तथा सदाचारको कुरा गर्ने तर भित्रभित्रै आर्थिक अनियमितता गर्ने, भ्रष्टाचार गर्ने वानीबाट बच्न सुझाव दिए ।
कार्यक्रममा आर्थिक वर्ष २०७५÷७६ को लागि नपाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख वासुदेव थापाले सूर्यविनायकलाई प्रविधियुक्त नगर बनाउने दिशातर्फ आफूहरु अघि बढिरहेको जानकारी दिए ।
उनले २३ वटा मुख्य शीर्षकमा नपाको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५÷७६ को लागि करिब ७५ करोड रुपैयाँको बजेट सिलिङ रहेको बताए ।
सूर्यविनायक नपाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको छ भने सडक तथा यातायात, भवन निर्माण र सिंचाइलाई क्रमशः दोस्रो, तेस्रो र चौथो प्राथमिकतामा राखेको छ ।
भवन निर्माणअन्तर्गत नपाले नक्सापास गर्दा नै एकघर दुई रुख रोप्ने नीतिलाई अनिवार्य लागू गर्ने नपाले बताएको छ । त्यस्तै कृषि शीर्षकअन्तर्गत जमिन बाँझो राख्न नपाइने नीति अवलम्बन गरी जमिन बाँझो राख्नेबाट जरिवाना असुल गर्ने नपाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।