काठमाडौं। ब्रजिल विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। समुह ‘ई’को बिजेता हुँदै ब्रजिल दोस्रो चरण प्रवेश गरेको हो भने स्विजरल्याण्ड समुहमा दोस्रो हुँदै ‘राउण्ड अफ सिक्सटिन’ (दोस्रो चरण) मा प्रवेश गरेको छ।
ब्रजिलले तीन खेलमा २ खेल जित्दै र १ खेलमा बराबरी गर्दै ७ अंकका साथ पहिलो भएको छ। त्यसैगरि स्विजरल्याण्डले ३ खेलमा ५ अंकका साथ दोस्रो स्थान हासिल गरेको छ।
पाँच पटकको विश्व बिजेता ब्रजिलले दोस्रो चरणमा मेक्सिकोसँग खेल्ने छ भने स्विजरल्याण्डले स्विडेनको सामना गर्ने छ। स्वेडेन आफ्नो समुहमा पहिलो भएको हो भने मेक्सिको दोस्रो भएको हो।
ब्रजिल-सर्बिया
ब्रजिलले सर्वियालाई २-० गोलले पराजित गरेको छ। खेलको ३६औं मिनेटमा पाउलिन्होले गोल गर्दै १-०को अग्रता दिलाएका थिए। त्यसैगरि ६८औं मिनेटमा नेयमारको कर्नर किकमा थियागो सिल्भाले गोल गर्दै २-०को स्थितीमा पुर्याएका थिए।
ब्रजिलले आजको खेल पुरै आफ्नो नियन्त्रणमा राखेको थियो। बललाई धेरै समय आफ्नो नियन्त्रणमा राख्दै आक्रमणको नीति ब्रजिलले अख्तियार गरेको थियो। ब्रजिल आफ्नो रणनीतिमा सफल भएको थियो।
ब्रजिलकालागि सर्वियासँगको खेल दवाबमुलक थियो। यो खेलबाट ब्रजिल दोस्रो चरण प्रवेश गर्नकालागि कम्तिमा १ अंकको आवश्यक्ता रहेको थियो। स्पष्ट जितसँगै ब्रजिलले ७ अंक ल्याउँदै समुह पहिलो भएको हो।
स्विजरल्याण्ड-कोस्टारिका
स्विजरल्याण्ड कोस्टारिकाले २-२ गोलको बराबरी गरेका छन्। खेलको ३१औं मिनटमा ब्लेरिम जेमालीले गोल गर्दै स्विजरल्याण्डलाई १-०को अग्रता दिलाएका थिए।
कोस्टारिकाकालागि ५६औं मिनेटमा केन्डल वास्टनले गोल गर्दै खेल १-१को बराबरी गरेका थिए। स्विजरल्याण्डका जोसिप डिमिचले ८८औं मिनेटमा गोल गर्दै २-१को स्थितीमा पुर्याएका थिए।
कोस्टारिकाले खेलको ९३औं मिनेटमा पाएको पेनाल्टी गोलपोष्टमा ठोकिएर गोलकिपरको ढाडमा लागेर गोल भएको थियो।







































