भक्तपुरमा अवैध नशालु औषधी विक्री गर्ने औषधीपसल सिलबन्दी

5940

भक्तपुर । भक्तपुरको सुर्यविनायकमा एक औषधी पसलमा सिलबन्दी गरिएको छ । किशोर र युवाहरुलाई लागुऔषधका रुपमा सेवन गर्ने अवैध नशालु औषधी बिक्री गरिरहेको जनगुनासो आएपछि सुर्यविनायक नगरपालिकाले पसलको आकस्मिक रुपमा नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाको नेतृत्वमा अनुगमन गरेको थियो ।
साविक भक्तपुर नगरपालिका १४ बस्ने डी। फार्मेसी उत्तीर्ण गरी औषधी पसल सञ्चालन गर्दै आएकी रिना श्रेष्ठले सञ्चालन गरेको तेजस्वी फार्मेसीबाट अवैध रुपमा औषधी बिक्री गरिरहेको र किशोर एवं युवाहरुले नशाका रुपमा औषधी सेवनको गुनासो आएपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, औषधी व्यवस्था विभागका निरीक्षक, नगरपालिकाको बजार निरीक्षक, जनप्रतिनिधि र पत्रकारसहितको टोलीले पसलको अनुगमन गरेको तिम्सिनाले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा पसलबाट झोलामा पोका बनाएर बिक्रीका लागि राखिएको ट्रेनडल १०० एमजी, ५० एमजी, क्लोनाज, क्लस्पलगायतका अवैध औषधी बरामद गरिएको थियो । पसल सिलबन्दी गरी सञ्चालकलाई २४ घण्टाभित्र विभागमा बयानका लागि बोलाएको र थप कारबाही शुरु गरिने औषधी व्यवस्था विभागका फार्मेसी निरीक्षक राम शर्मा पौडेलले बताउनुभयो ।